अर्थ

नेपाल–बंगलादेश व्यापार : आयात बढी निर्यात कम

झापा । पूर्वी नाका काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को तथ्यांकमा नेपालमा उत्पादित सामान रू. ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने रू. सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्षमा मात्र नेपाल–बंगलादेश व्यापार घाटा रू. ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताए । उनले प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बंगलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको बताए ।

उनका अनुसार आव २०७६/०७७ मा रु ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा रू. चार अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको थियो । व्यापार घाटा रू. तीन अर्ब ९९ करोड ९३ लाख ११ हजार भएको भन्सारको तथ्यांकले देखाएको छ ।

आव २०७१/०७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो तर बंगलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवालगायतका सामग्रीको निर्यात कम भएसँगै आयात बढेको उनको भनाइ छ ।

नेपालबाट बंगलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बंगलादेशबाट, जुट, आलु, प्लाष्टिकजन्य सामग्री, वासिङ मेशिन, औषधि, भटमासको दाना र पिना, मेशिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्युपेपरलगायत आयात हुने गरेको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए ।

मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्यांकी–फूलबारीबाट बंगलादेशको बंगलाबन्धबाट व्यापार हुँदै आएको छ । भारतले फूलबारी–बंगलाबन्ध नाका नेपाल–बंगलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो । पूर्वी नाका काँकडभिट्टाबाट करीब ८० किलोमिटरको दूरीमा बंगलादेश रहेको छ ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले नेपालका कृषिजन्य वस्तुमा बंगलादेशले बढी लगाएको करको विषयमा नेपाल सरकारले नै पहल गरेर घटाउनुपर्ने बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *