अर्थ

झापामा लोपोन्मुख बासमती धानको व्यावसायिक खेती

झापा । पकाउँदा र भोजन गर्दा समेत मगमग बास्ना चल्ने स्वादिस्ट बासमती चामललाई संरक्षण गर्ने ध्येयले राष्ट्रिय खाद्य बैंक कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती सुरुवात गरेको छ ।

झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५ सय बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न सुरुवात गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती सुरु गरेको छ ।

शनिवार सयभन्दा बढी रोपाहार लगाएर परम्परागत रुपमै धुमधामका साथ रोपाइ गरेको थियो । स्थानीय १३ किसानको ५ बिगाहा जमिन प्रतिबिगाहा वार्षिक ३५ हजारका दरले भाडामा लिइएको उनले जानकारी दिए ।

आगामी वर्षदेखि झापामै सयौ बिगाहामा बासमाती धानको खेती विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए । कम्पनीको झापाका संयोजक धनञ्जय चुँडालका अनुसार गौरादहमा कालो नुनिया, हुलास बासमती, हाइव्रिड कालो नुनिया र रैथाने बासमतीको विऊ रोपिएको छ ।

स्थानीय डिल्लीप्रसाद सेढाईले कम्पनीलाई चार बिगाहा जग्गा भाडामा दिइको जानकारी दिए । बिगतमा आफुले उत्पादन गरेको धान समयमै बिक्री नहुने, विचौलियाका कारण सस्तो मूल्यमा बेच्नुपर्ने, खेतीमा मजदूर नपाउने आदि कारणले हैरान भइरहेको अवस्थामा कम्पनीले जग्गा लिजमा लिँदा खुशी लागेको प्रतिक्रिया दिए ।

यस बर्ष कम्पनीले परम्परागत रुपमै खेती गरेको कारण खेत जोत्न, बीऊ उखेल्न र रोपाई गर्न स्थानीयबासीले नै रोजगारी पाएका छन् । अर्को सालदेखि यान्त्रिकीकरण गरेर खेती गरिने कम्पनीले जनाएको छ ।

कृषिको उत्पादन, भण्डारण र विक्री वितरण आफैंले गर्ने नीति अनुरुप देशैभर धान खेती गर्ने यो पहिलो कम्पनी हो । जिल्लामा कूल ८७ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती भइरहेको छ । तीमध्ये ६ देखि ७ प्रतिशत मात्र बासमती धानको खेती हुँदै आएको कृषिज्ञान केन्द्रका विज्ञ शालिकराम भट्टराईले जानकारी दिए ।

अन्य धानको तुलनामा यसको उत्पादन कम हुने र पाक्ने समय पनि बढी हुने हुँदा किसानहरुको यसप्रति खासै रुची नभएको उनको भनाइ छ । “पुराना र धनाढ्य किसानले मात्र बासमति धानको खेती गरिरहेका छन्”, उनले भने, “अरु धान पाक्दा यो धान पसाउन मात्र सुरु गर्छ । मगमग बासना धेरै आउने हुँदा किराहरु बढी लाग्ने र उत्पादकत्व घट्ने हुँदा व्यावसायिक किसानले यसको खेती गर्दैनन् ।” रोपेको १ सय २० दिनमा मन्सुलीलगायतका धान पाक्ने भए पनि बासमती धान १ सय ५० दिनमा मात्र पाक्ने उनको भनाइ छ ।

थोरै भए पनि झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगी र दक्षिण क्षेत्रमा बासमति धानको खेती हुने गरेको छ । तर, राष्ट्रिय खाद्य बैंकले जिल्लामा गरिरहेको बासमति धानको खेती बारे कृषिज्ञान केन्द्रमा कुनै पनि जानकारी नआएको बताए । दुई अर्बको पूँँजी रहेको खाद्यान्न बैंकका ७७ वटै जिल्लामा कार्यालय रहेको र मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा कार्यक्षेत्र रहेको अध्यक्ष उप्रेतीे बताए ।

कृषि, माटो, बनस्पति, वातावरण, पर्यटन तथा जलस्रोत विज्ञहरु, कृषि प्राविधिक र कोरिया, जापान, चीनबाट कृषि तालिम लिएका अनुभव प्राप्त व्यक्तिहरुको संयुक्त लगानीमा यो बैंकको स्थापना गरिएको उनको दाबी छ । बैंकमा हालसम्म ५ सय ८७ जना प्रमोटर शेयर सदस्य रहेको र निकट भविष्यमै यसले एक हजार शेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ ।

झापा, मोरङ र सुनसरीका लागि नमूना परियोजनाका रुपमा गौरादहमा यसले धान खेती गरेको जनाएको छ । अन्य प्रजातिको धानको तुलनामा बासमती धानमा पोषक तत्वको मात्रा बढी हुने हुँदा यसको खेती गरिएको उनले बताए ।

उनका अनुसार फुड एण्ड न्यूट्रिसनको बारेमा जानकारी दिलाउने, पोषणयुक्त खानेकुरा उत्पादन गर्ने र अज्र्ञानिक कृषि उपजहरु उत्पादनमा लगाउने बैंकको मुख्य लक्ष्य रहेको छ । लाखौंलाई रोजगार दिने र परनिर्भरतालाई घटाएर मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *