कास्की । पोखरा महानगरले आगामी आर्थिक वर्षका २०७८/ ०८९ को लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ ।
नवौं नगर सभामा बिहीवार उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन् । चालू आर्थिक वर्षमा लागि ५ अर्ब ७२ करोड रुपैयाँको बजेट ल्याइएको थियो ।त्यसमध्ये महानगरले चालू आर्थिक वर्षमा लक्ष्यको ४५ प्रतिशत मात्रै खर्च गरेको छ । विनियोजित ५ अर्ब ७२ करोडको बजेटमध्ये चालू खर्चतर्फ ३ अर्व २० करोड ८४ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
बजेटमध्ये प्रशासनिक खर्चमा १ अर्ब ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख छुट्टयाइएको थियो अर्थात् चालूतर्फ ५२ र पूँजीगततर्फ ४२ प्रशितत बजेट विनियोजित थियो ।
उपमेयर मञ्जु गुरुङले आगामी आर्थिक वर्षका विनियोजित ६ अर्ब २७ करोड ७५ लाख बजेटमध्ये चालूतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६ दशमलव ४ प्रतिशत छुट्याइएको बताइन् ।
त्यसैगरी पूँजीगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३ दशमलव ६ प्रतिशत विनियोजन गरिएको छ ।बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात् ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात् १ दशमलव ५ प्रतिशत, संघीय राजस्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात् ५ प्रतिशत रहेको छ ।
त्यसैगरी प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने प्रक्षेपण गरिएको छ ।
बजेटमा अपुग हुने १ अर्ब ३ करोड ७५ लाख ९२ हजार सञ्चित मौज्दात र चालू आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने उपमेयर गुरुङले बताएकी छन् ।
प्रस्तावित बजेटमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अर्थात् १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, अर्थात २ प्रतिशत, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, २२ दशमलव ७.५ प्रतिशत प्रस्ताव गरिएको छ ।
त्यसैगरी कृषितर्फ १४ करोड ४९ लाख अर्थात २ दशमलव ३ प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, ६.४ प्रतिशत, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६ दशमलव ६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात् ४५ दशमलव ७ प्रतिशत प्रस्तावित गरिएको छ ।
महानगरपालिकाको दीर्घकालीन वित्तीय क्षमताको विश्लेषण गर्दा, आन्तरिक आयतर्फ घर जग्गा रजिस्ट्रेसनको हिस्सा ३७ करोड ४० लाख ३० हजार ७०० अर्थात् आन्तरिक आयको ३८ दशमलव ५४ प्रतिशत ,यसैगरी ढुंगा गिटीको विक्री शुल्क १४ दशमलव ३६ प्रतिशत रहेको छ । त्यस्तै नक्सापास दस्तुर १० दशमलव ६६ प्रतिशत तथा सिफारिस दस्तुर २ प्रतिशत रहेको छ ।
तर तुलनात्मक रुपमा स्थिर आय शीर्षकहरु जस्तै सम्पत्ति करको योगदान कुल आन्तरिक आयमा ४ प्रतिशत, व्यवसाय करको योगदान ३ दशमलव ३१ प्रतिशत तथा वहाल करको योगदान ५ दशमलव ८ प्रतिशत, भूमि करको योगदान ६ दशमलव १२ प्रतिशत, व्यवसाय कर ३ प्रतिशत मात्र रहेको छ ।




