समाचार

तनहुँ नेविसंघका पूर्व अध्यक्ष आले व्यावसायिक मेवा खेतीमा सक्रिय

तनहुँ । व्यास नगरपालिका–१३ निवासी वसन्त आलेले पोखरी भञ्ज्याङ नजिक व्यावसायिक रुपमा मेवा खेती थालेका छन् । नेपाल विद्यार्थी सङ्घ तनहुँका पूर्वअध्यक्ष आलेले ताइवान रेडलेडी ८७६ जातको मेवाको खेती गरेका हुन् ।

करिब ९० रोपनी क्षेत्रफलमा करिब सात हजार मेवाको बिरुवा लगाउने योजना अनुरुप हाल दुई हजार बिरुवा ताइवानबाट ल्याएर लगाइएको आलेले बताए । गत वैशाखमा बिरुवा लगाएको तीन महिना भयो । छ महिनामा फल दिन शुरु हुन्छ । उनले भने, “फल राम्रो लाग्ने र बिक्रीको लागि १५ दिनसम्म टिकाउ हुने भएकाले यसतर्फ आर्कषित भएको हुँ ।” भारतमा उत्पादन भएको मेवाको तुलनामा नेपालमा उत्पादन भएको मेवाको स्वादले सजिलै बजार लिन सक्ने विश्वास गरिएको उनले बताए ।

स्थानीय जातको मेवा दुई÷तीन दिन पनि टिकाउ नहुने र कुहिने भएकाले यस जातको मेवाको बिरुवा लगाइएको हो । उनले भने, “आफूले पनि पहिलो पटक लगाएकोले कस्तो फल दिन्छ हेर्न बाँकी रहेको छ ।” एउटा बीउको रु २८ परेको छ । दश ग्राम प्याकेटको नौ हजार परेको र फल राम्रो फल्ने जानकारी समेत पाएको उनले बताए ।

लकडाउन खुलेपछि सोही क्षेत्रमा बाख्रा तथा पाडा पाल्नको लागि खोर गोठ निर्माण गरिने किसान आलेले जानकारी दिए । आले विसं ०५१ सालमा स्ववियू सभापति हुदै २०५३ बाट ०६९ सम्म तीन कार्यकाल नेविसंघ तनहुँका जिल्ला अध्यक्षको नेतृत्व लिएर काम गरिसक्नु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *