अर्थ

बेइजिङ बन्याे विश्वकै सबैभन्दा धेरै अर्बपति हुने सहर

काठमाडौँ । बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । फोर्ब्सले निकालेको विश्वका धनी व्यक्तिहरुको सूचीअनुसार चीनको राजधानी बेइजिङमा सबैभन्दा धेरै अर्बपति देखिएका हुन् ।

बेइजिङमा पछिल्लो वर्ष मात्रै ३३ जना अर्बपति थपिएका छन् । योसँगै बेइजिङमा अर्बपतिको संख्या १०० पुगेको छ । विगत ७ वर्षदेखि अर्बपतिको संख्याको हिसाबले शीर्ष स्थानमा रहेको न्युयोर्कलाई बेइजिङले यस वर्ष उछिनेको हो । न्युयोर्कमा ९९ जना अर्बपति रहेको फोर्ब्सको सूचीमा देखिएको छ ।

कोरोना महामारीका बीच प्रविधि र स्वास्थ्य सामग्री तथा उपकरणको व्यापारले बेइजिङमा अर्बपतिको संख्या थएिको बीबीसीले जनाएको छ । अर्बपतिको संख्या धेरै भए पनि न्युयोर्कमा रहेका अर्बपतिको कुल सम्पत्ति भने बेइजिङका अर्बपतिको भन्दा ८० बिलियन अमेरिकी डलर बढी रहेको पनि बीबीसीले उल्लेख गरेको छ ।

बेइजिङका सबैभन्दा धनी व्यक्ति हुन् चाङ यिमिङ जाे भिडियो सेयरिङ एप टिकटकका संस्थापक तथा यसको प्यारेन्ट कम्पनी बाइटडान्सका सीईओ हुन् । उनको कुल सम्पत्ति ३५‍.६ बिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै न्युयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वमेयर समेत रहेका माइकल ब्लूमबर्गको कुल सम्पत्ति भने ५९ बिलियन अमेरिकी डलर रहेको छ ।

अमेरिकामा जस्तै चीनमा पनि पछिल्लो समय ई–कमर्समा लगानी गर्ने व्यवसायीहरुले राम्रो कमाएका छन् । यस वर्षमात्रै चीनको बेइजिङसहित हङकङ र मकाउमा समेत गरी २ सय १० जना अर्बपति थपिएको फोर्ब्सले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *