मुख्य समाचार

कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले बजारमा कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो । समितिले चारवटै विभागका महानिर्देशकहरुलाई बैठकमा बोलाई उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धमा छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । नेपाली उपभोक्ताहरुको हकहितमा केन्द्रित हुन नेपालको कानुनबमोजिम आआफ्नो सीमाभित्र रही कालोबजारी गर्नेहरुलाई निरुत्साहित गर्न र सबै सम्बन्धित विभागले संवेदनशील हुनुपर्ने समितीले बताएको छ ।

यस्तै दर्ता भए पनि नभए पनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कडा कानुनी दायराभित्र ल्याई दण्ड र जरिमानासहित कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिले बिल बिजक लिनुपर्छ भन्ने सम्बन्धमा बढीभन्दा बढी जनचेतना फैलाउनु सरकारको दायित्व भएकोले त्यसतर्फ ध्यान दिनसमेत विभागहरुलाई निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *