ताप्लेजुङ । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुंगोलामा उत्पादित गलैँचा १६ महीनादेखि नाकाबन्दले गर्दा विक्री भएको छैन । ओलाङचुंगोलामा उत्पादन भएको गलैँचा चीनका विभिन्न बजारमा खपत हुँदै आएकोे छ ।
सो क्षेत्रका स्थानीयवासीको प्रमुख पेशाका रुपमा गलैँचा उत्पादन गर्ने गर्दछ । समुन्द्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुंगोलामा हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । यहाँका समुदायले पशु र गलैँचा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
हिमाली बस्ती ओलाङचुंगोला, याङ्मा, घुन्सा र फले क्षेत्रका समुदायको पुख्र्यौली पेशमाका रुपमा प्रत्येक घर परिवारमा गलैँचा बुन्ने काम गर्दै आएको फक्ताङलुङ –६ टाँसी तेञ्जीङ शेर्पाले जानकारी दिए ।
लामो समयसम्म ओलाङचुंगोलाको टिप्ताला नाकाबन्द खुल्न सकेको छैन । नाकाबन्द हँुदा १६ महीनादेखि उत्पादन गरेको गलैँचा घरमै थन्क्याएर राख्नुपरेको स्थानीयवासी तेञ्जिङ वालुङले बताए ।
उहाले भने, ‘लामो समयसम्म पनि नाका खुल्न सकेन । घरमा उत्पादन गरेको गलैँचा सदरमुका फुङ्लिङ बजारमा लगिएर विक्री गर्यो भने, आफूले परिश्रम गरेको र लागत पनि उठान मुस्किल पर्दछ ।’ लकडाउनका समयमा बुनेको ५० थान गलैँचा घरमै थन्काएर राखेको लामा भुजुङ शेर्पाले जानकारी दिए ।
एउटा गलैँचाको मूल्य १५ हजारदेखि २७ हजारसम्ममा चीनमा विक्री हुने उनले बताए । सरदर हिसाब गर्ने हो भने रू. नौ लाख ५० हजार बराबरको गलैँचा घरमै थन्क्याइएको छ ।
नाकाबन्दले सीमा गलैँचा बिक्री हुन नसकेर ओलाङचुंगोलामा प्रत्येक घरमा ३० थानको हाराहारीमा गलैंचा घरमा थन्काएर राख्न बाध्यता भएको फक्ताङलुङ –७ का वडाध्यक्ष छेतेन भोटेले बताए ।
उनले भने, ‘ओलाङचुङ्गोला गोलाका प्रमुख आयस्रोत गलैँचा हो । त्यही गलैँचा १६ महीनादेखि नाकाबन्दले घरमै थन्क्याएर बस्नुपरेको छ ।’ आफूले उत्पादन गरेको गलैँचा विक्री हुन नसकेपछि दैनिक जीविकोपार्जन गर्न समस्या भएको भोटेले बताए ।
आलाङचुंगोलाको टिप्ताला नाका हुँदै निर्यात हुने नेपाली उत्पादनमा एक ओलाङचुंगोलामा उत्पादन भएको गलैँचा पनि एक भएको व्यापारी तावा च्युङदाक शेर्पाले बताए । लामो समयसम्म पनि नाका खोल्ने दुईतर्फ सम्झौता भएको छैन । सरकारको निर्णयानुसार गृह मन्त्रलयले गत हप्ता जिल्ला प्रशासन कार्यालयमा नाकामा आवतजावत गर्न स्थानीयवासीलाई दिनु भनिए परिपत्र भएको छ । सीमा सुरक्षा प्रहरी चौकीदेखि पास लिएर आवतजावत गर्न पाउने जानकारी दिइएको छ ।
गृह मन्त्रलयले नाकाका विषयमा परिपत्र भए पनि एकपक्षले मात्र निर्णय गरेर नहुने चीन मालेला जानकार राख्ने तथा फक्ताङ्लुङ गाउँपालिका प्रवक्ता छेतेन लामाले बताए । सिमा तथा नाका जस्तो सम्वेदनशील क्षेत्रमा दुई देशको निर्णयमा मात्र सम्भव हुने उनी बताउँछन् । आवश्यक परेमा खाद्य सामग्री चीनले ल्याएर सीमा क्षेत्र छोडी दिनसक्ने चीनका अधिकारीले बताएको उनले जानकारी दिए ।
नेपालको उत्पादन भएको वस्तु भने चीन निर्यात नहुने जानकारी दिइएको छ । नेपालको सामग्री निर्यात नहुने भएपछि ओलाङचुंगोलाको गलैँचा घरमै थन्क्याएर राख्नुपर्ने टुंगो नएको स्थानीवासी बताउँछन् ।
नेपालकोतर्फबाट नाकाको खुल्ने भए पनि चीनतर्फबाट तत्काल नाका नखुलाउने संकेत दिएको लामाले बताए । अझ लामो समयसम्म नाका खुल्न सकेन भने ओलाङचुंगोललगायत हिमाली बस्तीमा खाद्य सामग्रीको अभव हुने लामाले बताए ।




