अर्थ

पर्यटन प्रवर्द्धनार्थ काभ्रेका चार स्थान छनोट

काभ्रेपलाञ्चोक । पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार निर्माणार्थ यहाँको चार स्थान छनोट गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना, आयोजना छनोटका क्रममा काभ्रेपलाञ्चोकको चार स्थान छनोट गरेको हो ।

पर्यटकीयस्थलको संरक्षण एवं भौतिक पूर्वाधार निर्माण गर्न छनोट गरिएका चार स्थानीय तहका चार स्थानका लागि रु १३ करोड ९२ लाख बजेटसमेत विनियोजन गरिएको छ । योजनाअन्तर्गत भुम्लु गाउँपालिकाको भीमसेनस्थान–गढीडाँडा–साँगासोती पर्यटन पूर्वाधार विकासमा रु चार करोड ६२ लाख, रोशी गाउँपालिकास्थित तीनधारे झरना संरक्षण एवं पूर्वाधार विकासका लागि रु पाँच करोड, बनेपा नगरपालिकाको चण्डेश्वरीमा सिँढी निर्माणमा रु तीन करोड ३० लाख र चौँरीदेउराली गाउँपालिकास्थित साँगासोती–खाँडाखेवी युद्ध पर्यटन पदमार्गका लागि रु एक करोड बजेटसहित रहेका छन् ।

मन्त्रालयको पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारी पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक निर्माणलाई प्राथमिकता दिइएको हो । सरकारले छनोट गरेका अधिकांश आयोजना उद्यान, वनभोजस्थल, मन्दिर, पर्यटकीयस्थलसम्म पुग्ने सडक, पदमार्ग, सङ्ग्रहालय, गुम्बा, स्मृति–उद्यान, मनोरञ्जनस्थल (फनपार्क)लगायतका रहेका छन् ।

केही महिनाअघि मात्रै प्रचारमा ल्याइएको रोशी गाउँपालिकाको तीनधारे झरनामा आन्तरिक पर्यटकको निकै चहलपहल बढिरहेको छ । यसको संरक्षण एवं भौतिक निर्माणका लागि गाउँपालिका पनि बजेटसहितको योजना बनाउने प्रक्रियामा छ । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका पूर्वसदस्य गोकुलप्रसाद बास्कोटाले स्थानीय तहका गन्तव्य पूर्वाधार विकासका लागि साझेदारी गराई सरकारले देशभरको स्थल छनोट गरी पर्यटकीय गन्तव्यकोरूपमा पूर्वाधार विकास गर्न पर्यटन क्षेत्रमा योजना थपिएको बताए । “अन्य क्षेत्रका विकाससँगै हामी जिल्लामा राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेका छौँ, समयमै काम सक्नुपर्यो, योजना र बजेटको चिन्ता गर्नुपर्ने अवस्था छैन”, उनले भने ।

मन्त्रालयले हालैमात्र देशभरका २ सय पर्यटकीय गन्तव्यको पूर्वाधार विकास निर्माणका लागि स्थान छनोट गरी करिब रु छ अर्ब ८० करोड विनियोजन गरेको छ । वाग्मती प्रदेशको काठमाडौं र सिन्धुली जिल्लाबाहेक ११ जिल्लाका २० पर्यटकीय गन्तव्य पूर्वाधारका निर्माणका लागि छनोटमा परेका छन् ।

यसअघि मन्त्रालयले १ सय वटा नयाँ पर्यटकीय गन्तव्यस्थल निर्धारण गर्दा बागमती प्रदेशमा सूचीकृत १७ स्थलमध्ये छनोटमा परेको काभ्रेपलाञ्चोकको महाभारत ट्रेल (लाँकुरीभञ्ज्याङ–फुल्चोकी–गुर्दुमडाँडा–नारायणस्थान–भुमेचुली पदमार्ग)को हाल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *