समाचार

१० महिनापछि झुलाघाट नाका नियमित सञ्चालनमा आउँदै

बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो ।

नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । सरकारले यसअघि गत शुक्रबारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो । नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ । उनले भने, “अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको हुनुपर्छ ।”

भारतीय पक्षले सहमति जनाएपछि शुक्रबार पनि नाकामा आवतजावत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । यस्तै लामो समयदेछि नाका खुल्दा सीमावर्ती झुलाघाट बजारका व्यापारी खुशी भएका छन्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *