काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नुवाकोटका सम्पूर्ण स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता निर्वाद रुपमा वितरण भइरहेका बेला बैंक र नगरपालिकाबीच समन्वय नहुँदा बेलकोटगढीमा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेको थिएन । दशैंको मुखमा समेत सामाजिक सुरक्षाभत्ता वितरण नभएपछि संकल्प खबरले समाचार प्रवाह गरेको थियो ।
बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/०७८ को प्रथम चौमासिकको भत्ता बैंकमार्फत् भुक्तानी गर्ने भएको छ । नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार प्रथम चौमासिक भत्ता लिनका लागि वडामा पठाइएको छ ।
वडाका ९० वर्षभन्दा माथिका जेष्ठ नागरिक र अपांगता भएका लाभग्राहीबाहेक सबैले सम्बन्धित वडाबाट सामाजिक सुरक्षा भत्ता परिचयपत्र र बैंकको केवाईसी फारम भरि २ वटा पासर्पोट साइजको फोटो र नागरिकताको प्रमाणपत्र लिइ सहज हुने सानिमा बैंक लिमिटेडको जुनसुकै शाखामा गई भत्ता लिन सक्ने छन् ।
पहिलो चौमासिकमा सूचिमा नाम नभएका तथा भत्ता प्राप्त गर्न छुटेका सबै लाभग्राहीको दोस्रो चौमासिकमा पहिलो र दोस्रो गरी एकमुष्ट रुपमा सबै रकम वितरण गरिने नगरपालिकाले जनाएको छ ।





