संखुवासभा । संखुवासभाको मकालु र चिचिला गाउँपलिकामा निर्माणाधिन ९ सय मेगावाटको अरुण–३ जलविधुत परियोजनाको काम तिव्रगतिमा अगाडि वढेको छ । निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत अरुण नदीमा बाँध निर्माणका लागि पानी डाइभर्सन गरिएको छ । आयोजना निर्माण गरिरहेको सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले पानी डाइभर्सन कार्यको सोमबार उद्घाटन गरेका छन् । अरुण नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ निर्माण गरिएको छ ।
चार सय २९ मिटर लामो डाइर्भसन ट्रनेलमा अरुण नदीको पानी फर्काएपछि सतलजका निर्देशक शर्माले अव बाँध निर्माणको काम सुरु हुने जानकारी दिए । परियोजनाको भौतिक प्रगति ३८ प्रतिशत भन्दा बढी भइसकेकाले समयमा नै काम सम्पन्न हुने पनि शर्माले बताए । सतलज कम्पनीले पिडीए सम्झौतामा उल्लेख गरे अनुसार नै अघि बढ्न स्थानिय सरकारसँग सहकार्य गर्ने र स्वास्थ्य, शिक्षालगायतका कुरामा समेत सहयोग गर्न प्रतिबद्ध रहेको समेत निर्देशक शर्माले बताए ।

बाँध निर्माण र एचाआरटी(सुरुङ) निर्माणको जिम्मा पाएको निर्माण कम्पनी जयप्रकाश एशोसिएट (जेपी) का डाइरेक्टर प्रविनकुमार सिंहले ड्राइभर्सन टनेलको कार्य सफतापुर्वक सम्पन्न गर्न निर्माण कम्पनीका अनुभबी प्राबिधिक र स्थानीयको साथ रहेको र नदीको पानी सुरुङ मार्फत फर्काए सँगै एक सय मिटर उचाईको बाँध निर्माणको कार्य पनि सुरु भएको जानकारी दिए ।
१ खर्ब ४४ अर्ब रुपियाँ लागत अनुमान निर्माण भइरहेको परियोजनाको बाँध मकालु–५ र विधुत गृह चिचिला–२ मा रहने छ । परियोजनाको यन्त्र राख्ने ठाउँ १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । विधुत उत्पालन गृह जमिन भित्रनै रहने निर्माण कम्पनीले जनाएको छ । ११ दशमलव ७४ किलोमिटर लामो मुख्य सुरुङको काम ४० प्रतिशत सकिएको हो । जलविधुत परियोजनाको मुख्य सुरुङ काम ४० प्रतिशत, ड्यामको काम ६० प्रतिशत, पावर हाउसको काम ६० प्रतिशत र ट्रान्सफर्मर हलको काम ८६ प्रतिशत काम सम्पन्न भएको एसएपिडिसीका प्रवन्धक निर्देशक अरुण धिमानले जानकारी गराए ।




