चीनको क्षेत्रको गतिविधिमा कमी आएको छ । सरकारले आइतबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
कोरोना भाइरसको संक्रमण बल्झिएपछि केही उद्योगको सञ्चालन प्रभावित भएपछि कारखाना गतिविधि प्रभावित भएको हो । जनवरीमा चीनको कारखाना क्षेत्रको पर्चेजिङम्यानेजर्स इन्डेक्स (पीएमआई) घटेर ५१ दशमलव ३ अंकमा आएको छ ।
यो डिसेम्बरको तुलनामा शून्य दशमलव ६ प्रतिशत अंक कम भएको त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालय (एनबीएस) ले बताएको हो । कुनै पनि आर्थिक क्षेत्रको गतिविधि मापन गर्ने यो सूचकांक ५० अंकभन्दा माथि रह्यो भने सो क्षेत्रमा विस्तार भइरहेको बुझाउँछ ।
सूचक सो स्तरबाट तल झर्यो भने खुम्चिएको संकेत दिन्छ । पछिल्लो समय चीनभर विशेषगरी उत्तरमा सामूहिक संक्रमण देखिन थालेको छ र संक्रमण नियन्त्रण गर्न कडाइ गर्न थालिएको छ ।
नयाँ वर्षको सार्वजनिक बिदाका कारण जनवरी कारखाना क्षेत्रका लागि जनवरी अफ सिजन नै हो । यसमाथि बल्झिएको संक्रमणले निश्चित खालका उद्योगको सञ्चालन प्रभावित बनाएको एनबीएसका वरिष्ठ तथ्यांकशास्त्री चाउ छिङहले बताए ।
जनवरीमा चीनको सेवा उद्योगको गतिविधि पनि घटेको अर्को तथ्यांकले देखाएको छ । डिसेम्बरमा ५५ दशमलव ७ अंक रहेको गैर–कारखाना क्षेत्रको पीएमआई जनवरीमा घटेर ५२ दशमलव ४ अंकमा आएको एनबीएसले बताएको छ ।




