विराटनगर । लगन र परिश्रमका साथ काम गरेमा धन कमाउन विदेश होइन स्वदेशमा नै मनग्य आम्दानी गर्न सकिने उदाहरण यहाँ बुटिक सञ्चालकले दिएका छन् । काम गर्दा पनि आफूभित्रको गहिराइ र आफू वरिपरिको वातावरण चाँहि बुझ्नुपर्ने विराटनगर–९ स्थित एक बुटिक सञ्चालकले देखाएका छन् । न्यू लक्की बुटिकका सञ्चालक लक्की अलीले अहिले अन्य कामदारलाई रोजगार उपलब्ध गराई वार्षिकरुपमा राम्रो आम्दानी गर्न सफल भएका छन् ।
उनी भन्छन् “काम भन्ने कुरा सानो र ठूलो हुँदैन । आफूलाई सन्तुष्टि प्राप्त हुने सीपमा परिश्रम र लगनशील भएर कार्य गरेमा परिवारको पालनपोषण राम्ररी गर्न सकिन्छ । ” पहिला आफू मेकानिक भएर काम गर्ने गरेको तर पछि आफ्नो आमाले घरमा एक जना लुगा सिलाउने मास्टर हुनु नै पर्ने कुरामा जोड दिन थालेपछि लुगा कटाई र सिलाइको काम सिकेको बताउँछन् ।
उनले बजारमा नयाँनयाँ फेसन आउने हुनाले त्यसका लागि दक्षता हासिल गर्न काठमाडौं, भारतको कोलकाता, मुम्बइ, डिल्ली र कस्मिरसम्म पुगेर विभिन्न नयाँ फेसनसम्बन्धी तालिम लिएको बताए । बुटिकको काम गर्दा रमाइलो लाग्ने गरेको र यो विशुद्ध हातको कला र सीप रहेको विचार व्यक्त गरे ।
उनले सञ्चालन गरेको बुटिकमा २४ जनालाई रोजगारी दिनुका साथै विवाह, व्रतबन्ध र विभिन्न धार्मिक कार्यक्रममा कामको चाप बढ्ने हुनाले थप कामदार करारमा राख्ने गरेको जानकारी दिए । उनले काम गर्ने कामदारको तलब न्यूनतम रु ३० हजारदेखि रु ५० हजारसम्म भुक्तानी गर्ने गरेको बताए ।
बुटिकका आफूले बनाएको लुगा सामान्यता रु तीन हजार ५ सयदेखि सुरु भइ रु तीन लाखसम्म ग्राहकको रोजाइमा निर्माण गरी बिक्री गर्ने गरेको उनले जानकारी दिए । अलीले ग्राहकले देखाएको र चाहेजस्तो सबै डिजाइन सामग्री बनाउने गरेको जनाउँदै ग्राहकको चाहना नयाँ–नयाँ नेपाली र भारतीय चलचित्र र टेलिभिजनको सिरियलमा नायिका लगाउने गरेको बताएका आधारमा निर्माण गर्ने जानकारी दिए ।
“मुख्यतः महिला तथा युवतीले बनाउने लुगामा लेहेङ्गा चोली, गाउन, ब्राइडल लेहेन्गा, डिजाइनर चोलो, सारी, भेलभेटको सारी र साना केटाकेटीको लेहेङ्गा र कपडा पास्नीमा लुगाको निर्माण गर्न आउने गर्दछन् ।”उनले भने ।
उनले बुटिकमा विराटनगरको मात्र नभएर अन्य ठाउँबाटसमेत कपडा बनाउन ग्राहक आउने गरेको र नेपाल बाहिर अमेरिका, जापान, अष्ट्रेलियामा समेत आफूलाई माया गर्ने ग्राहक रहेको र उताबाट पनि धेरै अडर आउने र बनाएर बाहिर पठाउने गरेको जानकारी दिए ।
बुटिक सञ्चालक अलीले आफूले विभिन्न प्रकारका चलेको कपडा काठमाडौं, भारतको सुरत, कोलकता, धरानबाट मगाउने गरेको जानकारी दिए । उनले अहिले विभिन्न डिजाइनमा चलेका कपडा ग्राहकको रोजाइमा परेको नेपाली ढाका, भेलभेट कपडा, सिल्क, जरजेट, नेट, बनारसी, प्रिन्ट बुटा जस्ता कपडा ग्राहकको रोजाइमा परेको जानकारी दिए ।
अहिले नेपालको उत्पादन ढाकाको कपडाको माग एकदमै बढेको र जेन्स र लेडिज दुवैको रोजाइमा यो परेको जानकारी दिँदै अलीले भने, “ग्राहकले देखाको डिजाइनलाई पूरै निखार्न सक्नु आफ्नो बुटिको खुबी हो । विराटनगरमा करिब १८ वर्षदेखि गुड ह्विल बुटिक सञ्चालन गर्दै आएको अफताव अलीले पहिलाको तुलानामा अहिले ग्राहकको रोजाइमा बुटिक एकदमै रुचाउन थालेको बताए ।
उनले भारतमा तयार हुने हुने विभिन्न सिरियल र चलचित्रबाट प्रभावित नेपाली ग्राहक त्यसैअनुसारको लुगा लगाउन र सिलाउन मन गरेकाले हाम्रो बुटिकको काम बढेको र आम्दानी पनि राम्रो हुने गरेको चर्चा गरे । उनले पहिले सामान्य लुगा मात्र सिलाउथे तर ग्राहकको चाप र माग बढेदेखि बुटिक सेवा प्रारम्भ गरेपछि आम्दानीमा एक्कासी वृद्धि भएको जानकारी दिए । यसबाट आम्दानी मात्र होइन स्थानीय ग्राहकको आवश्यकता पनि पूरा हुने गरेकाले म कहाँ आउने ग्राहक फेरि पनि मेरै आउँछ उनको भनाइ थियो ।
यस्तै विराटनगर वडा नम्बर १२ मा न्यू जुनु बुटिक चलाउँदै आएकी जुनु मगर विगतको सम्झँदै भन्छिन्, “आफ्नो जीवनमा पैसा नभएर धेरै दुःख भोग्नुप¥यो ।” एक दिन आफ्नो मिल्ने साथीले सिलाइकटाइ सिक्न आग्रह गरी पैसा पनि आफैँ हालिदिने सर्तमा सामान्य लुगा सिलाउन सिक र गरी खाउ भन्ने उनको भनाइबाट प्रेरित भएर मैले यो सीप सिके र आज मेरो अवस्थामा निकै सुधार र परिवर्तन आएको चर्चा गरिन् ।
मैले सिलाएको लुगा ग्राहकले मन पराइदिएपछि मेरो व्यवसाय टिकेको छ भन्दै जुनु मगरले थप तालीम लिइ अहिले डिजाइजनर पनि भएकी छन् । उनले आफ्नो व्यवसायमा तीन जना महिलालाई रोजगार पनि दिएको जानकारी दिइन् ।
म महिला भएको नाताले म कहाँ महिला युवती आउन कुनै सङ्कोच नमान्ने र शरीरको नाप लिएर बनाएका लुगा उनीहरुलाई राम्रो जाँच्ने तथा आकर्षक देखिने भएकाले पनि मेरो व्यवसाय राम्रो चलेको जुनुको भनाइ छ ।
सोनी सब्नम बुटिकका सञ्चालक अली मियाले बुटिको काम आफूले १२ वर्षदेखि गर्दै आएको बुटिकमा विवाहको मौसममा राम्रो आम्दानी हुने गर्छ । अरुबेला सामान्य हुन्छ । अहिले आफ्नो बुटिकमा नेटको कपडाको लुगा सिलाउने ग्राहक बढी आउने गरेको जानकारी दिइन् ।
उनले बुटिकमा विराटनगर बाहिर दुहवी, खनारबाटसमेत कपडा बनाउन आउने गरेको जानकारी दिइन् । बुटिकमा कपडा सिलाइ गर्दा ढाँचा अनुसारको ज्याला लाग्ने र सामान्य चोलो सिलाको रु ४ सयदेखि रु दुई हजारसम्म रहेको छ । गाउनको सिलाएको ज्याला रु तीन हजार, लेहेङ्गा चोलीको ज्याला रु दुई हजार ५ सयदेखि रु १० हजार, कुर्ता सलवार सिलाएको ज्याला रु ४ सयदेखि रु एक हजार ५ सयसम्म ज्याला निर्धारण गरेको छ ।




