समाचार

हुलाकी राजमार्ग निर्माण सुस्त हुनुको भित्री कथा

काठमाडौं । झापामा पर्ने कनकाई, बिरिङ तथा रतुवा नदीका पुल धेरै वर्षदेखि अलपत्र अवस्थामा छन्। निर्माणाधीन हुलाकी राजमार्गमा पर्ने बिरिङ खोलामा पुल अहिलेसम्म नबन्दा खोला वारि र पारिका मानिसलाई आवतजावत गर्न कठिनाइ छ।

झापाको झापा गाउँपालिका पश्चिममा पर्ने कनकाई नदीमा पनि पुल नबन्दा त्यहाँ निर्माणाधीन हुलाकी राजमार्गमा अहिले पनि सवारीसाधनको आवागमन हुन सकेको छैन।

कनकाई नदीको पुल वर्षौँदेखि अलपत्र छ। उक्त पुलको पिलर मात्र बनाएर छाडिएको छ। झापामा पर्ने रतुवा खोलाको पुलमुनि बनाइएको बाँसको टाटीको अस्थायी पुलबाट मानिसहरू आवतजावत गर्ने गरेका छन्।

पूर्वदेखि पश्चिमसम्मका तराईका सर्वसाधारणको जीवनस्तरलाई उकास्न भन्दै निर्माण सुरु भएको हुलाकी राजमार्ग निर्माणको काम सुरु भएको एक दशक बित्दा पनि सर्वसाधारणले हुलाकी राजमार्गलाई सदुपयोग गर्न पाएका छैनन्।

केही स्थानका काम नभएका होइनन्। तर पूर्वदेखि पश्चिमसम्म त के एउटा जिल्लाभित्र पनि उक्त राजमार्गमा यातायातका साधन चल्न सकेका छैनन्।

प्रदेश नं २ मा पनि हुलाकी राजमार्गमा पर्ने कैयौँ पुल बनेका छैनन् भने कैयौँ स्थानमा सडकसमेतलाई स्तरोन्नति गरिएको छैन। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सालगायत जिल्लालाई अहिले पनि हुलाकी राजमार्गले जोड्न सकेको छैन।

चितवनमा त राष्ट्रिय निकुञ्जका कारण उक्त क्षेत्रमा सडक विस्तारको काम अघि बढ्न नसकेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले नै जानकारी दिएको छ। निर्माण अवधिान आयोजना सम्पन्न हुनेमा राजमार्ग निर्माणमा खटिएका पूर्वअधिकारी तथा मन्त्रीहरू आशङ्का गर्छन्।

हुलाकी राजमार्गको सोचेअनुरूप अगाडि बढ्न नसकेको निर्माणका पूर्व तथा वर्तमान सरकारी अधिकारीहरू बताउँछन्।कुल १,८०० किलोमिटरभन्दा बढी निर्माण हुनुपर्ने अवस्थामा अहिलेसम्म ६०० किलोमिटर मात्र निर्माण सम्पन्न भएको निर्देशनालयले जानकारी दिएको छ।


आयोजना निर्देशनालयका निर्देशक रोहितकुमार बिसुरालले भने, ‘अझै पनि धेरै ठाउँमा विभिन्न अवरोधहरू छन्। ती अवरोध समाधान भए समयमा काम सक्ने हाम्रो प्रयास रहनेछ।’
पूर्वपश्चिम राजमार्गको विकल्पको रूपमा हेरिएको राजमार्गको निर्माण आर्थिक वर्ष २०७९र८० भित्रमा सम्पन्न भइसक्नु पर्नेछ। तर यही गतिमा उक्त समय सीमामा काम सम्पन्न नहुने आयोजना निर्देशनालयका पूर्वनिर्देशक बलराम मिश्र बताउँछन्।
साभार : बीबीसीबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *