अमरगढी । डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका साथै आर्थिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको किबीखेती तर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएको तथा पर्याप्त मात्रामा फल्न नसकेका कारण किसान किबीखेती तर्फ लागेका हुन् ।
सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने र बजारकोसमेत अभाव नहुने भएपछि किसान सो खेतीतर्फ आकर्षित भएका हुन् । सदरमुकाम नजिकै पर्ने अमरगढी १ भेटा, ७ पोखरा र ६ दमोडा बडामा पनि केही किसानको समूहले गत वर्षदेखि किबीखेती गर्दै आएका छन् ।
किबीका बिरुवा ५० प्रतिशत अनुदामा यस वर्ष ८ सय वितरण गरिएको थियो । दुवै ठाउँका लागि दोलखाको बोचस्थित बागबानी फार्मबाट बिरुवा झिकाइ नर्सरीबाट प्रति बिरुवा रु १ सयमा कृषि ज्ञान केन्द्र डडेल्धुराले अनुदानमा किसानका लागि खरिद गरी समूहलाई वितरण गरिएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए । बिरुवा लगाएको चार वर्षमै उत्पादन दिने भए पनि बजारमा आउन भने पाँच वर्ष लाग्दछ । यसको फल तीन प्रकारको हुने हुँदा मूल्य पनि क्रमशः तीन, चार र पाँच सय प्रति किलोमा बिक्री गर्ने सकिने र विदेशबाट आउने ए ग्रेडको किबीको मूल्य भने प्रतिकेजी ९ सय पर्ने भट्टले जानकारी दिए ।
उत्पादित किबीको फललाई वियर, जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको बताइएको छ । डडेल्धुरामा किबी फलको सुरुवात चार वर्ष मात्र भएको हो । किबीखेती समुद्री सतहबाट एक हजार २ सय मिटर देखि दुई हजार ४ सय मिटर उचाइमा लगाइन्छ । यसलाई सिंचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । बागबानी फार्म बोचका अनुसार प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनु पर्दछ । किबी फल ज्यादै पोषिलो र धेरै फल्नुका साथै उत्पादन प्रविधि सजिलो भइकन पनि बजारमुखी छ । लहरामा फल्ने अत्यन्त पोषिलो यो फल फागुन चैतमा फूल फुल्ने र कात्तिक मंसिरमा टिप्न योग्य हुन्छ ।
यो फलमा भिटामिन सि, ई, के र अन्य खनिज पदार्थ धेरै भएकाले स्वास्थ्यका लागि बहुउपयोगी पोषणयुक्त हुनुका साथै पेटसम्बन्धी रोग निमोनिया, दम, उच्च रक्तचाप, कोलेष्टोरल, मधुमेह जस्ता धेरै थरी रोगमासमेत उपयोगी हुने विज्ञहरू बताउँछन् । किबी फल नेपालमा भित्रिएको करिब तीन दशक भइसकेको छ ।




