अर्थ

आर्थिक तथा पर्यटकीय केन्द्र बन्दै नवलपुर

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै छ । पूर्वाधार विकासका योजना थपिँदै छन् । यसले नवलपुरमा आर्थिक गतिविधिसमेत बढाएको छ ।

राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्याङ्क अनुसार नवलपुरमा आर्थिक गतिविधि बढेको छ । नवलपुरमा कूल १२ हजार ७ सय ४५ वटा आर्थिक प्रतिष्ठान रहेको तथ्याङ्कमा उल्लेख छ । यो गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये दोस्रो स्थान हो । प्रदेशको कास्कीमा सबैभन्दा बढी ३० हजार ७ सय ४५ प्रतिष्ठान रहेका छन् । तेस्रो स्थानमा रहेका तनहुँमा १२ हजार ४ सय ३३ वटा प्रतिष्ठान रहेका छन् । यस तथ्याङ्कले पनि नवलपुर गण्डकी प्रदेशको आर्थिक केन्द्र बन्दै गएको देखाएको छ ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको भएकाले पनि यहाँ उद्योग, कल कारखाना खुल्ने क्रमसमेत बढ्दै गएको छ । कच्चापदार्थ ढुवानीमा सहजता हुने भएकाले यहाँ आर्थिक प्रतिष्ठान केन्द्रित हुन थालेका हुन्् । नवलपुरमा विसं २०७० यता पाँच वर्षको अवधिमा आर्थिक कारोबार गर्ने प्रतिष्ठान खुल्ने क्रम तीव्र रुपमा बढेको छ ।

जिल्लामा रहेका कूल प्रतिष्ठानमध्ये सात हजार ९ सय २४ अर्थात ६२ दशमलब २० प्रतिशत प्रतिष्ठान विसं २०७० देखि २०७५ को अवधिमा स्थापना भएको तथ्याङ्कले देखाएको छ । यसले पछिल्ला वर्षमा जिल्लामा आर्थिक गतिविधि बढेको देखाएको छ । लगानीको वातावरण बढदै जानु, मानिस सीप सिकेर आफ्नो स्वरोजगारमूलक पेशा व्यवसाय गर्ने क्रम बढदै जानु, सीमा क्षेत्रसँग जोडिएको जिल्ला भएकाले पनि जिल्लाको आर्थिक गतिविधि चलायमान हुँदै गएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताए ।

“सरकारले थप लगानीमैत्री वातावरणको निर्माण र आवश्यक सुरक्षाको पबन्ध गर्ने हो भने जिल्लामा आर्थिक प्रतिष्ठान स्थापनाको दरमा अझै तीव्रता आउँछ”, उनले भने, “यसले मुलुकको विकास र समृद्धिमा उल्लेखनीय टेवा पु¥याउन सक्छ ।”

नवलपुरस्थित १२ हजार ७ सय ४५ आर्थिक प्रतिष्ठानमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा तीन हजार १ सय ६५ वटा रहेका छन् । यस्तै गडाँकोटमा दुई हजार ८ सय ५४, देवचुलीमा दुई हजार ५४, मध्यविन्दुमा एक हजार ६ सय २२, विनयी त्रिवेणीमा एक हजार १ सय०, हुप्सेकोटमा ८ सय ६२, बौदिकालीमा ५ सय ६५ र बुलिङटारमा ५ सय २३ आर्थिक प्रतिष्ठान रहेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ती भण्डारीले बताए ।

जिल्लामा ४६ दशमलव ७० प्रतिशत प्रतिष्ठान दर्ता भएका छन् भने ५३ दशमलव ३० प्रतिशत प्रतिष्ठान दर्ता बिना नै सञ्चालनमा रहेको बताइएको छ । दर्तामा नभएका आर्थिक प्रतिष्ठानलाई सहज वातावरण बनाएर दर्ता प्रक्रियामा ल्याउनुपर्ने नवलपुर उद्योग संघका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए । उद्योग संघका अनुसार आर्थिक क्रियाकलापका आधारमा नवलपुरमा सबैभन्दा बढी ५६ दशमलव ६० प्रतिशत थोक तथा खुद्रा व्यापार, मोटरगाडी, मोटरसाइकल मर्मत, १३ दशमलव ९० प्रतिशत आवास सुविधा तथा खाना व्यवस्था र १२ दशमलब १० प्रतिशत औद्योगिक उत्पादनका प्रतिष्ठान छन् । ती प्रतिष्ठानमा ३८ हजार ३ सय ९६ जनाले रोजगारी पाएका छन् । तीमध्ये २२ हजार ५३ पुरुष र १६ हजार ३ सय ४३ महिला रहेका छन् ।

यसका साथै नवलपुर क्षेत्रको नारायणी किनार र मध्यवर्ती क्षेत्र चरा अवलोकन गर्ने पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाका सामुदायिक वन, नारायणी नदी र ताल तलैया वरपर चरा अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो । केही वर्षअघिसम्म गैंडा, बाघ र अन्य जङ्गली जनावर हेर्नका लागि आउने पर्यटक अहिले चरा हेर्न भन्दै यस क्षेत्रमा आउने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *