काठमाडौं । आइतबार सेयर बजारको कारोबारमा नयाँ रेकर्ड सहित ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्से परिसूचक बढेर १७८२.८१ अंकमा पुगेको छ । सुरुमा सेयर बजार साढे ३३ अंक हाराहारीले बढेकोमा दुई पटकसम्म १८११ अंकलाई छोएको थियो ।
आइतबार छोटो समयका लागि १८०० अंक नाघेको नेप्से परिसूचक सेयर बजारमा लगानीकर्ता नाफा सुनिश्चिततातिर लाग्दा ५० अंकको तीव्र उतारचढावबाट गुज्रिएको छ ।
आइतबारको बजारमा सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीको कुल हिस्सा ३९ प्रतिशत छ । सदा झैं नेपाल पुर्नवीमा कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको सेयर ५७ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




