भजनी । बाटोमा सञ्चालन हुँदै आएका होटल व्यवसायीले खाना तथा नास्ताको मनपरी रकम असुल्न थालेका छन् । कोरोना भाइरसका कारण करिब ६ महिनाको बन्दाबन्दीपछि यातायातका साधन खुलेसँगै होटल रेस्टुरेन्ट पनि खुलेपछि यातायात कर्मचारी र होटेल व्यावसायीको मिलेमतो खाना र नास्तामा यात्रुसँग मनपरी रकम असुल्न थालिएको हो । कोरोना भाइरसकै कारण थला परेको अर्थतन्त्र बिस्तारै चलायमान हुन थालेको अवस्थामा व्यवसायीले मनपरी खानाको पैसा लिन थालेपछि यात्रु मर्कामा परेका छन् ।
कैलालीको टीकापुरबाट अछाम हिँडेका गोविन्द सोडारीले एक खानाको रु २ सय तिर्नुप¥यो । विसं २०७६ चैत १० गते अछामबाट टीकापुर आउँदा उनले बाटोमा सादा खानाको रु १५० तिरेका थिए । उनका अनुसार बस चालकले जोरायल गाउँपालिका डोटीको गैरामा एकमात्र होटल भएको ठाउँमा बस पार्किङ गरेर खाना खान भन्यो । त्यहाँ अर्को कुनै विकल्प पनि थिएन । अर्को होटलमा जाने वा खानाको सट्टा खाजा पाउने ।
“दुई रोटीको रु २ सय तिर्नु प¥यो”, गोविन्दले भने, “नखाउँ पेटले मागेको छ, खाउँ दुई रोटीको २ सय ।” उनले मानिससँग पैसा नभएको बेला हुने यस्तो कालोबजारी रोक्न राज्य जिम्मेवार हुनुपर्ने बताए । उक्त होटल कुनै आधिकारिक निकायमा दर्तासमेत नभएको पाइएको छ ।
त्यस्तै अछामबाट रोजगारीको सिलसिलामा भारत हिँडेका प्रेमबहादुर विकले होटेल व्यवसायीसँग झगडा नै गर्नु प¥यो । राति साढे ११ बजे बस चालकले डडेल्धुराको भातकाँडा एक होटेलमा खाना खानका लागि भन्दै बस पार्किङ गर्यो । त्यहाँ एक होटेलभन्दा अर्को कुनै पसलसमेत थिएन । उनीसँग सीमित पैसा थियो । त्यही पैसाले उनले भारत पुग्नु पनि थियो भने बाटोमा खाना खानु पनि । उनले मासु र खानाको कुपन मागे । रु एक हजार दिए । पैसा छुट्टा नभएपछि होटल सञ्चालकले पछि लिन भने । प्रेमले खाना खाए र पैसा फिर्ता माग्दा उनलाई रु ५१० मात्र फिर्ता दिइयो ।
पैसा कम दिएपछि मैले होटल सञ्चालकलाई सोधे, “मटन खानाको रु ४ सय ९० रहेछ ?”, उनले भने, “२ सय ८० मा पाइने खानाको बन्दाबन्दी खुलेसँगै रु २ सय १० बढिसकेको रहेछ ।” त्यति मात्रै होइन, बस चालकले होटल व्यवसायीसँग पहिले नै पैसाको समेत बार्गेनिङ गर्ने गरेका छन् । बसका यात्रुअनुसार एक हजारदेखि तीन हजारसम्म बस रोकेर यात्रुलाई खाना खुवाएबापत चालक र बसका अन्य कर्मचारीहरुले पाउने गरेका छन् ।
अछामबाट धनगढीका लागि छुटेको खप्तड मालिका यातायातको १७३ नं बसका कर्मचारीले होटेल सञ्चालकसँग यात्रुलाई खाना खुवाएबापत रु दुई हजार फोन गरेर माग गरेको प्रेमले बताए । पहिले होटेल सञ्चालकले खानाको कुपन दिने र त्यस कुपनमा रेटसमेत उल्लेख हुने तर, अहिले कुपनको सट्टा होटेलको भिजिटिङ कार्डलाई कुपन भनेर ग्राहकलाई दिने गरेका छन् । त्यही भिजिटिङ कार्डमा कुनै रेट लिस्टसमेत उल्लेख गरिएको हुँदैन ।
डोटीको जोरायल गाउँपालिका–१ गैरामा न्यू रेश्मा होटल एन्ड लज सञ्चालन गर्दै आएका लालबहादुर मल्लले कुपनको सट्टा दिएको भिजिटिङ कार्डका बारेमा बुझ्न खोज्दा उल्टै ग्राहकसँग झगडा गरे । अन्तिममा एकजना ग्राहकले आफ्नो वास्तविक पेशागत परिचय दिँदा भने होटल सञ्चालकले खाना निःशुल्क खुवाउने भन्दै अरू ग्राहकलाई नभड्काउन आग्रहसमेत गरे । उनले खानाको रेट लिस्ट माग्दासमेत दिन चाहेनन् भने ६ महिनाको बन्दाबन्दीको समस्या देखाउँदै बाध्य भएर खानाको दर बढाउनु परेको स्वीकार गरे ।




