ओखलढुङ्गा- जिल्लाको ठाडेका होमस्टे पुनःसंचालनमा आएका छन् । कोरोना माहामारीको त्रासका कारण बन्द रहेका होमस्टे छ महिना पछि पुनः सञ्चालन गरिएको हो ।लामो समयको लकडाउन र निषेद्याज्ञामा बन्द रहेका होमस्टे बडादशैं र दिपावलीजस्ता चाडपर्व नजिकिएसंगै मानिसको चहलपहल पनि हुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर होमस्टेको सेवा पुनः शुरु गरिएको ठाडे मगर सामुदायिक होमस्टेका उपाध्यक्ष हरिकुमार मगरले बताए ।
आन्तरिक पर्यटक र सुरक्षा अपनाएर आउने पाहुनाले सामजिक दूरी कायम गर्नुपर्ने, होमस्टे प्रवेश गर्नुअघि र समूहमा बस्दा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको उपाध्यक्ष मगरले जोड दिए । ठाडेका वासिन्दाले सामूहिकरूपमा चलाएका होमस्टेमा पाहुनाका लागि हातधुने ठाँउ, साबुन र स्यानिटाईजरको पनि व्यवस्था गरिएको छ । लामो समयको लकडाउनले होमस्टे व्यवसाय सङ्कटमा परेकाले सतर्कता अपनाएर सेवा शुरु गरिएको स्थानीय व्यवसायीले बताए ।
गत चैत दोस्रो साताबाट बन्द भएका होमस्टे खुलेपछि विगत वर्षको जस्तो पाहुना नआए पनि सम्पर्कमार्फत सुरक्षित भएर आउने सिमित पाहुनालाई सेवा दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पारस मगरले बताए। शहरमा बस्ने धेरैजसो अहिले गाउँमा रहेकाले जैविक परिकारको स्वादमा रमाउन चाहनेहरु मात्रै होमस्टेमा आउने गरेको उहाँको भनाइ थियो । ठाडेबजार समुन्द्री सतहबाट करिब २ हजार ९ सय मिटर उचाईमा छ । सगरमाथाको प्रवेशमार्गमा पर्ने ठाडे बजार सोलुखुम्बुको पत्ताले नजिक पर्दछ ।
यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य दर्जनौं हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । यहाँको होमस्टेमा पुग्ने पाहुनालाई आलुको ढिडो (रिल्दुक), गोर्मालिक (गहुँको पिठो दूधमा पकाएको परिकार), स्याक्पा, सिमी, मकै, फापरको ढिंडोलगायत स्थानीय परिकार खुवाउने र मगर समुदायको संस्कारले सत्कार गर्ने चलन छ ।




