अर्थ

बागमतीले गर्‍याे प्रदेश स्तरीय सहकारी र विषयगत सहकारी संघको दर्ता प्रक्रियाको सुरुवात

काठमाडौं। बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बागमती प्रदेशमा प्रदेश स्तरीय सहकारी संघ र विषयगत सहकारी संघको दर्ता प्रक्रीयाको सुरुवात गरेको छ ।

आज भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकारी विकास महाशाखाको आयोजनामा हेटौंडामा भएको प्रदेश स्तरीय सहकारी संघहरुको दर्ता प्रमाण पत्र वितरण समारोहमा प्रमुख अतिथि रहेका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशमा दर्ता भएका बागमती प्रदेश सहकारी संघ लिमिटेड, काठमाण्डौं, बागमती प्रदेश वचत तथा ऋण सहकारी संघ लिमिटेड, ललितपुर र बागमती प्रदेश कृषि सहकारी संघ लिमिटेड, सितापाईला काठमाणडौंलाई प्रमाण पत्र हस्तान्तरण गरेका हुन । हाल बागमती प्रदेश सरकारले सहकारी सम्बन्धी कानूनहरु तयार गरिसकेको र धेरै भन्दा धेरै सहकारीहरुको पुँजीलाई देश विकासमा लगानी गर्न समेत मुख्यमन्त्रीले आग्रह गरे। सहकारीसँग अवसर छ, सहकारी सहकारी मिलेदेखि धेरै कार्य गर्न सकिने हुदा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणमा सहकारी क्षेत्रको संलग्नता बढाई राष्ट्र निर्माणको कार्यमा प्रदेश सरकार समेत सहभागी हुने बताए। साथै सहकारीको योगदान राष्ट्र निर्माणमा होस भन्ने शुभेच्छा व्यक्त गरे ।

कार्यक्रमको विशिष्ट अतिथी रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राष्ट्र निर्माण तथा रोजगारी सृजनामा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । अब सहकारी संस्थाहरुले कृषकले उत्पादन गरेको कृषि उपजहरुको बजारीकरण लागि ध्यान दिनुपर्ने, व्यवसायीक ढङ्गवाट कृषि उत्पादन बढाई समृद्ध नेपाल, सुखी नेपाली बनाउन प्रदेश सरकार सहकारीहरुसँग हातेमालो गर्न तयार रहेको बताए ।

दर्ता भएका सहकारीहरुलाई शुभकामना दिदै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। योगेन्द्र कुमार कार्कीले प्रदेश सरकारका कार्यक्रमहरुमा सहकारी क्षेत्र पहिलो प्राथमिकतामा रहेको र प्रदेशका साना तथा सिमान्तकृत कृषकहरुको संरक्षण अब सहकारीहरुले गर्नुपर्ने बताए । कार्यक्रमको समापन गर्दै सचिव डा। कार्कीले सहकार्यको लागि मन्त्रालयको ढोका सधै खुल्ला रहने तथा छिट्टै प्रदेशमा सहकारी विभाग समेत गठन हुने बताए । कार्यक्रममा प्रदेश सांसद प्रकाश श्रेष्ठ, प्रमुख सचिव डा मान बहादुर विक, राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरु, केन्द्रीय बचत तथा ऋण सहकारी संघ लिमिटेडका पदाधिकारीहरु, मन्त्रालयका कर्मचारीहरु, पत्रकार, बागमती प्रदेश सहकारी संघ लिमिटेड, बागमती प्रदेश वचत तथा ऋण सहकारी संघ लिमिटेड, र बागमती प्रदेश कृषि सहकारी संघ लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *