अर्थ

कुखुरा व्यवसायमा कोरोनाको कहरः दैनिक २२ करोड नोक्सान

काठमाडाैं । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी ९लकडाउन० का कारण उत्पन्न यो अवस्था टुलुटुलु हेरेर बस्नु बाहेकको अर्को विकल्प पाएका छैनन् ।

दुई साताको लकडाउनले मात्र नभएर बिगत दुई वर्ष यता नै कुखुरापालन व्यवसायमा देखिएको उतारचढावका कारण धेरै कृषक विस्थापित पनि भइसकेका छन् । बैंक सारेर ऋण थपेका कृषक मात्र टिकेको व्यवसायीहरुले बताउँदै आएका छन् । तर यतिखेरको यो महामारीले त झन् कति व्यवसायी र यससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका किसान विस्थापित हुने हुन् भन्ने कुराको आँकलन अहिले नै गर्न गाह्रो भएको छ । चितवन कुखुरापालन व्यवसायको प्रमुख जिल्ला हो ।
कुखुरापालक कृषक एवं व्यवसायीहरुरुको छाता संस्था नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्र्रेल लकडाउन शुरु भएदेखि नै दैनिक कम्तीमा पनि रु २२ करोड ४० लाख ६० हजार यो व्यवसायमा घाटा भइरहेको बताउनुहुन्छ । पोख्रेलको भनाइमा चल्लामा रु ३ करोड ४५ लाख ७० हजार, ब्रोईलर तयारी कुखुरामा रु १५ करोड, अण्डामा रु ३ करोड ४५ लाख ९० हजार र अन्यमा रु ५० लाख दैनिक नोक्सान व्यहोर्नु परेको छ । “यो आजसम्मको अवस्था हो, यो लकडाउन अझै लम्बिँदै जाने हो भने यो नोक्सानीले कुन रुप लिने हो अहिले नै भन्न अझै गाह्रोछ” उनी भन्छन् ।

पोख्रेल व्यवसायी टिक्नै मुस्किल हुने अवस्थामा पुगेको बताउँछन् । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष समेत रहेका पोखे्रलका अनुसार देशभरमा ८ वटा लेयर्स् चल्ला उत्पादन गर्ने ह्याचरी छन् । तीनले सातामा २ लाख चल्ला उत्पादन गर्दछन् । प्रतिगोटा चल्लाको लागत मूल्य रु ९० पर्दछ । हाल ती खोरहरुमा १ लाख माउ छन् । अमेरीका, जर्मन, हल्याण्ड र फ्रान्सबाट ल्याइएका ती माउको प्र्रतिगोटा रु १ हजार पर्ने पोख्रेलले बताए ।

ब्रोईलर चल्ला उत्पादन गर्ने ३ सय २२ ह्याचरी छन् । ती ह्याचरीले सातामा ३५ लाख चल्ला उत्पादन गर्ने उहाँको भनाई छ । नेपालसँगै थाईल्याण्ड, मलेसिया, फिलिपिन्स, अमेरीका, बेलायत र भातबाट ब्रोईलर प्यारेन्ट ल्याउने गरिन्छ । ती माउ पतिगोटा रु ६ सय ५० पर्दछ । ब्रोईलर चल्लाको लागत मूल्य रु ५७.४५ पैसा पर्ने पोख्रेल बताउँछन् ।

उनका अनुसार कोईलर र कलर ब्र्रोईलर चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा छन् । जसले सातामा ४ लाख चल्ला उत्पादन गर्दै आएका छन् । कलर ब्रोईलर र कोईलर भारत र युरोपबाट ल्याइएका हुन् । कलर ब्रोईलरको माउ (प्यारेन्ट) रु १ हजार र कोईलर रु तीन सयमा ल्याइएका हुन् र तिनको लागत मूल्य रु ४० पर्ने गर्दछ । हाल देशभरका ह्याचरीमा १ लाख ४० हजार माउ रहेका छन् ।

नेपालमा माउ (प्यारेन्ट) उत्पादन गर्ने ग्रयाण्ड प्यारेन्ट ह्याचरी २ वटा रहेका छन् । ती ह्याचरीले मासिक ७० हजार प्यारेन्ट उत्पादन गर्दछन् । पोख्रेलको भनाईमा ती ह्याचरी बाहेकका सबै ह्याचरीको चल्ला खाल्डो खनेर पुर्नुपर्ने बाध्यता रहेको छ । धेरैतिर अब यस्तै गर्नुपर्ने वाध्यता पनि आइसकेको छ ।

गतवर्ष फागुन यता चल्लाको मूल्य आउन नसक्दा निकै नोक्सान बेहोर्नु परेको उनको भनाई छ । चरल्लाको मूल्य नपाएपछि व्यवसायीहरुले १० दिन चल्ला उत्पादन वन्द समेत गरेका थिए । नेपालमा सातामा ४ लाख चल्ला उत्पादन गर्ने अबिनास ह्याचरी पनि छ । जसको ह्याचरीमा मात्र रु ६ अर्ब भन्दा बढी लगानी भएको जनाउदै आएको छ । गएको एक वर्षमा ह्याचरी क्षेत्रमा मात्र रु ३ अर्ब ६५ करोडभन्दा बढी नोक्सान भएको दाबी पोख्र्रेलको छ ।

नेपालमा कुखुरापान क्षेत्रमा १ खर्ब २० अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र रु २० अर्ब भन्दा बढी लगानी भएको पोख्रेलको अनुमान छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्र्रीय अध्यक्ष शिवराम केसीले कृषक टिक्ने अवस्था घट्दै गएको बताउनुभयो । धेरै कृषक यस अघिनै विस्थापित भइसकेको उनले वताए । अण्डा उत्पादन गर्ने कृषकले बिगत दुई वर्षयता निरन्तर घाटा व्यहोर्नु परेको छ । केसीका अनुसार अहिले कृषकले उत्पादन गरेको अण्डा भण्डारण गरेर राखिएको छ । बिकेको अण्डा प्रतिगोटा रु ७ मा बिक्री भएको छ । लागत मूल्य मात्र प्रतिगोटा रु ११.५० पैसा भन्दाबढी पर्दछ । एउटै अण्डामा रु ४।५० पैसा नोक्सान छ । केही अण्डा बिक्री भएको भए पनि अन्य गोदाममै छ । गर्मी बढेकालेले अब त अण्डा नष्ट गर्नुको अर्को विकल्प पनि नभएको उहाँको भनाई छ ।

देशभरमा दुई हजार २०० भन्दाबढी कृषक प्र्रत्यक्ष रुपमा यस पेशामा संलग्न छन् । जसले १ लाख जनशक्तिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको केसीको भनाई छ । संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल अण्डा गोदाममा थन्किएको र खुखुरालाई दाना खुवाउन कच्चा पदार्थ किन्ने पैसाको अभाव भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामी त पालिन्छौ नै कुखुरा कसरी पाल्ने ।” सबै किसानका सामु चिन्ता भएको उहाँ बताउनुहुन्छ ।

अहिले पेटभर खान नपाएका कुखुराले पछि पनि राम्रो उत्पादन दिन नसक्ने कँडेलको भनाई छ । अठार देखि १९ हप्ताका लेयर्स कुखुराले अण्डा दिन थाल्दछन् । ती कुखुराबाट राम्रो व्यवस्थापन भएमा ८२ हप्तासम्म अण्डा लिन सकिन्छ । कँडेल अहिले लकडाउन मात्र भन्दा पनि पहिलेदेखिकै समस्याले गर्दा टिक्न गाह्रो हुदै गएको बताउनुहुन्छ । लेर्यसमा मात्र रु २० अर्ब भन्दाबढी लगानी भएको उहाँको भनाई छ ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट सरकारले तत्काल सम्बोधन गर्न नसके नेपालको आत्मनिर्भर यो व्यवसाय विस्थापित हुने चिन्ता व्यक्त गर्नुहुन्छ । अहिलेकै अवस्थामा धान्नसक्ने कोही नभएको भन्दै उहाँले सरकारले तत्काल अनुदान दिन सक्नुपर्ने बताउनुभयो ।

बैंक ऋणको ब्याज एकवर्ष मिनाहा गर्नुपर्ने, ऋणको तिर्नुपर्ने सावा एक वर्ष सार्नुपर्ने, चालु पूँजी बराबर पुनर्कर्जा दिनुपर्ने उहाँ बताउनुहुन्छ । साना लेयर्स तथा ब्रोईलर किसानका लागि स्थलगत अनुगमन गरी विस्थापित हुन नदिन कुखुरा गोटाको आधारमा नगद सहयोग गर्नुपर्ने र दानाको कच्चा पदार्थ मकै तथा भटमासको पिनामा भन्सारमा लग्दै आएको कृषि सुधार शुल्क हटाउनुपर्ने व्यवसायीको माग छ ।

यो लकडाउन कति जान्छ भन्न नसकिने भन्दै बिष्टले यत्तिकै अवस्थामा सहयोग नपाएमा ८० प्रतिशत कृषक विस्थापित हुने त्रास रहेको बताउनुभयो । त्यस अवस्थामा बाहिरका उत्पादन छिरेमा नेपालको अर्थतन्त्रमा ठूलो असर पुग्ने बिष्टको भनाई छ । अन्य पेशाजस्तो यो पेशा नभएकाले यसको मर्मलाई तत्काल बुझिदिन सम्बन्धित निकायलाई अनुरोध गर्दै आएको उहाँले बताउनुभयो ।

नेपाल दाना उद्योग संघका पूर्वकेन्द्रीय अध्यक्ष डा तिलचन्द्र भट्टराई कुखुराले दाना नै खान नपाउने स्थिति आएको बताउनुहुन्छ । अण्डा थन्किएर वसेको, ब्रोईलर कुखुरा विक्री नभएको र चल्ला मार्नुपर्ने बाध्यतामा रहेको उहाँको भनाई छ । नगदमा दानाको कच्चा पदार्थ किनेर उद्यारोमा कति दिन बिक्री गर्न सक्ने उहाँले गुनासो गर्नुभयो । कुखुरा पालन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १२ लाखले रोजगारी पाएको र नेपालको अर्थतन्त्रमा यस व्यवसायले महत्वपूर्ण भूमीका खेलेको उहाँको भनाई छ ।

उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका भट्टराईका अनुसार पछिल्ला वर्षहरुमा चितवनभन्दा बाहिर ठूला फार्म सुरु भएका छन् । कुल उत्पादनको ३० प्र्रतिशत हाराहारी चितवनले ओगटेको उहाँको भनाई छ । नेपालमा कुखुराको दानाका लागि आवश्यक पर्ने धेरै कच्चा पदार्थ बाहिरबाट आउने गर्दछ । समग्रमा ६५ प्रतिशत कच्चा पदार्थ त बाहिरैबाट आउने भट्टराईको भनाई छ । मकै ७० प्रतिशत, भटमासको दाना र पिना ९५ प्रतिशत, औषधि ८० प्रतिशत र सूर्यमुखी पिना ४० प्रतिशत बाहिरबाट नै आउने गरेको छ । ढुटो भने नेपालकैले पुग्ने गरेको छ ।

भट्टराईको भनाइमा गत वर्ष कच्चा पदार्थमा रु ४० अर्ब खर्च भएको थियो । कुखुराजन्य पदार्थ रु एक खर्ब ६ अर्बभन्दा बढीको बिक्री भएको तथ्याङ्क छ । यो उत्पादनस्थलकै मूल्य हो । उहाँका अनुसार एक दिने चल्ला रु सात अर्ब ५८ करोड, दाना रु ४५ अर्ब ७९ करोड, अण्डा रु १७ अर्व ९३ करोड, मासु रु ३४ अर्ब ९७ करोड र मल रु ५० करोडको बिक्री भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *