अर्थ

खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो   

काठमाडौँ।सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु गरेको छ । लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने लक्ष्यका साथ विद्युतीय कारोवार शुरु गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निर्देशनअनुसार नै कम्पनीले दैनिक उपभोग्य वस्तुको विद्युतीय माध्यमबाट जानकारी लिने र सोही अनुसार बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो । कोरोनाको सङ्क्रमणका त्रासका कारण उपभोक्ताले सहज रुपमा दैनिक उपभोग्य वस्तु पाऊन् भन्ने ध्येयका साथ यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको कम्पनीले जनाएको छ ।

सोही कम्पनीले लकडाउनको समयमा चीनबाट ल्याइएको विद्युतीय चुल्होसमेत बिक्री गरेको थियो । कूल सात हजार ३०० थान विद्युतीय चुल्होमध्ये अधिकांश बिक्री भइसकेका छन् । लकडाउनको समयमा खाना पकाउने एलपी ग्यासको अभाव देखिने अवस्था आएपछि कम्पनीका चुल्हो खरिद गर्न चाहने उपभोक्ता उस्तै रहेका छन् । दैनिक ३०० भन्दा बढी चुल्हो बिक्री भएका छन् ।

यही अवस्थालाई ध्यानमा दिएर कम्पनीले अझै चुल्हो खरीद गरेर ल्याउने र बिक्री गर्ने योजना बनाएको छ । सरकारले विद्युतीय उपकरण प्रयोग गर्न र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्नसमेत यसअघि नै आग्रह गरेको छ । कम्पनीका अनुसार तत्काल १० हजार थान विद्युतीय चुल्हो जरुरी छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालका अनुसार सरकारी स्वामित्वको कम्पनीले आजदेखि काठमाडौँ उपत्यकामा अनलाइनबाट दैनिक उपभोग्य वस्तुको माग लिने र घरघरमा नै पुर्याउने प्रणाली विकास गरेको छ ।

काठमाडौँ उपत्यकाको विशेषगरी चक्रपथ क्षेत्रमा त्यस्तो सुविधा प्रदान गरिनेछ । सचिव अर्यालका अनुसार चक्रपथभित्र बसोबास गर्ने उपभोक्ताले दैनिक उपभोग्य वस्तुको माग गर्न सक्नेछन् । सो योजनालाई बिस्तारै काठमाडौँ उपत्यकाबाहिरसमेत विस्तार गरिने मन्त्रालयले जनाएको छ । सचिव अर्यालले भने, “शुरुआत गरिएको छ, यसलाई क्रमशः विस्तार गरिँदै लगिनेछ ।”

कम्पनीले सामान माग गरेको बढीमा दुई दिनभित्र उपलब्ध गराउने जनाएको छ । तत्काललाई रु दुई हजार बराबरको दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ । लकडाउन अवधिभर त्यसरी माग गरिएको सामग्रीमा थप शुल्क नलिने समेत कम्पनीले जनाएको छ । त्यसका लागि उपभोक्ताको सम्पर्क नम्बरमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सानो मन्सुली, जीरा मसिनो, जापानी चामल, कर्णाली सिमी फापरलगायतका खाद्य वस्तु उपलब्ध गराउनेछ ।

कम्पनीको बेवसाइट http://nfc.com.np/Organization/Introduction    अनलाइन सपिङमा गएर उपभोक्ताले आफूलाई आवश्यक वस्तु माग गर्न सक्नेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरु गरेको ‘होम डेलभरी’ सेवाबाट उपभोक्ताले लाभ लिन सक्नेछन् । त्यसका लागि नगद वा ई–पेमेन्ट गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले उपभोक्तालाई ई–पेमेन्ट विधि अपनाउन आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीको अञ्चल कार्यालय, काठमाडौँमा सम्पर्क गर्न सकिनेछ । यस्तै ०१४२४६३८९ वा ९८४८४४४९४४ टेलिफोनसमेत गर्न सकिनेछ ।

यस्तै आज वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा बढी मूल्य लिई कुखुराको मासु बिक्री गरेको पाइएपछि एक व्यवसायीलाई रु दुई लाख जरिवाना गरेको छ । काठमाडौँ महानगरपालिका–३१ विजयनगरमा रहेको मुस्कान मासु पसलमा बढी मूल्य लिएर कुखुराको मासु बिक्री गरेको पाइएको छ । विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मासु पसललाई रु दुई लाख जरिवाना गरेको हो । बढी मूल्यमा कुखुराको मासु बिक्री गरेको स्थानीयवासीको गुनासोपछि विभागले आज अनुगमन गरेको थियो । अनुगमनका क्रममा कैफियत पाइएकाले जरिवाना गरिएको विभागको भनाइ छ ।

विभागले लकडाउनको समयमा कुनै गुनासो भए पैसा नलाग्ने १६६००१३३०४४ नंको टोल फ्री नंमा सम्पर्क गर्न आग्रह गरेको छ । यस्तै ११३७ नंको पैसा नलाग्ने फोन नंसमेत सञ्चालनमा ल्याइएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर अनुगमन गरिरहेका छन । उनले लकडाउनको समयमा कुनै पनि नागरिक भोकै बस्नु नपरोस् भन्ने ध्येयका साथ अनुगमनलाई प्रभावकारी बनाइएको जानकारी दिएका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *