अर्थ

चीन तर्फका दुई नाका खोल्न चिनिया पक्षको आनाकानी

काठमाडौं । नेपालका कोरोनाको संक्रमण बढेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न आनाकानी गरेको छ । रसुवागढी भन्सार कार्यालयले दिएको जानकारी अनुसार नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ अधिकारीहरु सशंकित बनेका छन् । नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै उनीहरुले नाका खुलाउन नचाहको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । उनका अनुसार नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा पुर्‍याउँदै गर्दा चीनको केन्द्रीय सरकारको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुननसक्ने जानकारी केरुङ प्रशासनले गराएको छ । तर, यस्तो जानकारी लिखित चाहिँ नभएको खड्काले बताए ।

माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोर दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई छ । नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको खड्काले बताए । नेपाल भारत खुल्ला सीमा र भारतमा तीब्र गतिमा फैलिएको कोरोनाको असर नेपाल नाका भएर आफ्नो मुलुकमा आउँछ कि भन्ने चिन्ता चिनियाँ अधिकारीले व्यक्त गरेको तातोपानी भन्सार कार्यालयका एक अधिकारीले बताए । चीनमा कोरोना फैलिएपछि बन्द गरिएको चीनतर्फको व्यपारिक नाका खुला गर्ने निर्णय नेपाल सरकारले चैत १२ गते गरेको भएपनि चिनियाँ पक्षले आनाकानी गरिरहँदा सञ्चालनमा आउन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *