ताजा समाचार

मलेसियाको रोजगारी अनिश्चितकालिन बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला नेपालीहरुको रोजगार गन्तब्य बन्दै आएको मलेसियाले पनि बुधबारबाट विदेशी नागरिकलाई मलेसिया प्रवेशकमा रोक लगाएको छ । मलेसिया सरकारको यो निर्णय पछि अब नेपालीहरुले पनि मलेसिया जान नपाउने भएका छन् ।

तर यो सधैका लागि बन्द भएको भने होइन । उसले कोरोना संक्रमण नियन्त्रणका लागि अपनाएको सावधानीका लागि विदेशी नागरिकलाई अहिले आफ्नो देश प्रवेशमा रोक लगाउने गरी गरेको निर्णय मात्र हो । मलेसियाले दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको हो । बुधबारबाट यो नियम लागु गर्ने मलेसिया सरकारले जनाएको छ ।

प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको जानकारी गराएका हुन् । उनले टेलिभिजनमा सम्बोधन गर्दै मलेसियाका नागरिकलाई पनि सो मितिसम्म देशबाहिर जान रोक लगाईएको बताएका थिए । यही निर्णयका कारण नेपालीहरु मलेसिया जान चाहेपनि अब नपाउने भएका हुन् । तत्कालका लागि दुई साताका लागि यो नियम मलेसिया सरकारले बनाए पनि त्यसपछिको कोरोना संक्रमणका अवस्था हेरेर मात्र थप निर्णयमा पुगिने त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् । मलेसियाले कुनै पनि भेला, खेलकुद र धार्मिक गतिविधि गर्न समेत रोक लगाएको छ । साथै शैक्षिक संस्था समेत बन्द भएका छन् । मलेसियामा अहिलेसम्म कोरोना संक्रमित संख्या ५५३ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *