काठमाडौँ।सरकारले अत्यावश्यक वस्तुुको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै अनावश्यक हल्लाको पछि लागेर वस्तु भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
नेपालमा सङ्क्रमण नरहेको कोरोना भाइरस (कोभिड–१९) को अनावश्यक त्रासका कारण अत्यावश्यक वस्तुको अभाव हुने आशङ्का उब्जाउन जरुरी नभएको सरकारले प्रष्ट पारेको छ । सरकारले छ महिनासम्म पुग्ने अत्यावश्यकीय वस्तु मौज्दात रहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको हो ।
“खरिद गर्ने मान्छेले एक महिनालाई चाहिने औषधि चार महिनाको किनिदियो भने हिसाब नमिल्ने भन्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले खाद्यान्न र औषधि झण्डै छ महिनाका लागि पुग्ने र इन्धन तीन महिनालाई पुग्ने गरी मौज्दात रहेको जानकारी दिए । कृत्रिम अभाव सिर्जना गर्ने र अस्वभाविक मूल्य असुल गर्नेलाई सामाजिक अपराधका रुपमा कारवाही गर्नेसमेत सरकारले चेतावनी दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्तिको सम्बन्धमा सरोकारवालासँग छलफल भएको थियो । उक्त समितिको संयोजकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल छन । समितिको यो तेस्रो बैठक हो । यसअघि फागुन २२ मा बसेको दोस्रो बैठकले कोरोना भाइरस भित्रिन नदिन गरिएको विगतको प्रयासको समीक्षा गर्दै थप उच्च सतर्कता अपनाउने निर्णय गरेको थियो । सरकारले कुनै समस्या परेमा तत्कालै खटिने गरी मुख्य सचिवको नेतृत्वमा ‘एक्सन कमिटी’ बनाइसकेको छ ।
अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता डा खतिवडाले वस्तुको अभाव हुने भनेर फैलाइएको अनावश्यक हल्लाको पछि नलाग्न नागरिकलाई अनुरोध गरेका छन । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खतिवडाले अन्य वस्तुमा समस्या छैन, केही औषधिजन्य वस्तुमा भारतले प्रतिबन्ध लगाएको सन्दर्भमा भन्सार विन्दुमा आएको वस्तु छुटाउने र अन्य विषयमा कूटनीतिक तहमा वार्ता गरी आवश्यकीय वस्तु अभाव हुन नदिन अनुरोध गरिसकिएको छ, त्यसमा पनि अब समस्या छैन, भने ।
उक्त बैठकमा उद्योगी, व्यवसायीले सरकारकोतर्फबाट एकीकृतरुपमा वास्तविक सूचना बाहिर नआउँदा बजारमा समस्या आएको बताएका थिए । सीमानाका र विमानस्थलबाट आवतजावत गर्ने व्यक्तिको स्वास्थ्य परीक्षणलाई व्यवस्थित गर्न व्यवसायीले सरकारसँग अनुरोध गरेका छन । नेपालबाट विदेश जाने सबै स्वस्थ छन् भन्ने सन्देश विश्वमा पुर्याउन जरुरी छ भनेर सरकारको ध्यानाकर्षण गराएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । कोरोनाका बारेमा मनगणन्ते प्रचार रोक्न व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।
नेपाली औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मृगेन्द्र श्रेष्ठले संवेदनशील वस्तु भएकाले औषधिमा कालोबजारी हुन नदिने प्रतिबद्धता जनाए । उनले भने, “अहिले पनि हामीसँग झण्डै पाँच महिनालाई पुग्ने औषधि छ, आत्तिनुपर्दैन ।” बैठकमा सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले प्रतिबद्धता जनाएको छ । मन्त्री खतिवडाले निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको उल्लेख गर्दै व्यावसायिक अनुशासन प्रदर्शन गर्नसमेत निजी क्षेत्रलाई अनुरोध गरेका छन ।
मास्कको आपूर्ति सहज हुँदै
निजी क्षेत्रले मास्कको उत्पादन बढाएकाले अब त्यसको आपूर्ति सहजतर्फ उन्मुख भएको छ । बैठकमा बढी जोखिम बहन गर्नुपर्ने मान्छेले मात्रै मास्क लगाउनुपर्ने कुरा जनमानसमा सूसुचित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । निजी क्षेत्रबाट मास्कको थप उत्पादन शुरु भएकाले अब बजारमा अभाव नहुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले बताए ।
सरकरले औषधिजन्य वस्तुमा भारतले केही निकासी प्रतिबन्ध लगाएकोबाहेक भारतबाट हुने आयात स्वभाविक ढङ्गले अघि बढिरहेको मन्त्री खतिवडाले प्रष्ट्याए । “अस्वभाविकरुपमा औषधिलगायत खाद्यन्न सञ्चय नगरौँ, ग्याँसको सिलिण्डर घरघरमा जम्मा गरेर जोखिम नबढाऔँ”, मन्त्री खतिवडाले भने, “चाहे औषधिजन्य वस्तु होस्, चाहे औद्योगिक कच्चापदार्थ होस्, चाहे उपभोग्य वस्तु होस्, या पेट्रोलियम पदार्थ होस्, कुनैमा समस्या छैन ।”
उनले निजी क्षेत्रले पनि सामान बिक्री गर्दा तपाईहरु धेरै नकिन्नुस्, हामीसँग पर्याप्त स्टक छ भनेर उपभोक्तालाई सम्झाउनुपर्ने आवश्यकता औँल्याए । उनले दक्षिणतर्फबाट आउने व्यापारमा कुनै अवरोध नभएको समेत स्पष्ट पारे । रोकिएका वस्तुको अनुगमन गरी जोखिमरहित अवस्थामा व्यापारलाई सहजीकरण गर्न व्यवसायीले आग्रह गरेका थिए । चीनतर्फको नाका सहज हुँदै गएकाले रसुवागढी र तातोपानी नाकामा रोकिएका सामान भित्र्याउने विषयमा सरकारले तयारी थालेको जनाइएको छ ।
वर्तमान अवस्थामा कतिपय वस्तुको उत्पादनमा आत्मनिर्भरतातर्फ जाने महत्वपूर्ण अवसर हो । नेपाल औषधि व्यवसायी सङ्घले ८० प्रतिशतसम्म औषधि स्वदेशमै उत्पादन गर्नसक्ने जनाएको छ । स्वदेशमै औषधि उत्पादन गर्ने हो भने आवश्यक सहयोग गर्न सरकार तयार रहेको भनेर आश्वासन दिइएको डा खतिवडाले बताए ।
विभिन्न खालका सूचनाका कारण कोरोना भाइरसको विषयमा अफवाह फैलिरहेको सन्दर्भमा सरकारले सूचना सम्प्रेषण गर्दा सर्वसाधारणलाई त्रसित हुने गरी नगर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले स्तरीय मापदण्डको आधारमा सूचना प्रवाह गर्ने भएकाले उक्त सूचनालाई आधिकारिक मान्न मन्त्री खतिवडाले सबैलाई आग्रह गरे ।
कोभिड–१९ को विषयमा सरकारले सबै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरेको छ ।




