ताजा समाचार

पर्यटनमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज भेट गरी कोरोना भाइरसको रोकथामका लागि पूर्वतयारीबारे जिज्ञासा राखेका छन् ।

पर्यटन मन्त्रालयमा आज भएको उक्त भेटमा कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र यसबाट निम्तन सक्ने समस्या तथा रोग नियन्त्रण, रोकथाम उपायको पूर्वतयारीको अवस्थाबारे कुराकानी भएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारेमा जानकारी गराउँदै राजदूत यान्छीले कोरोना सङ्क्रमणबाट पीडित ८० हजार ९०० बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी गराए ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताए । उनले कोरोनाको सम्भावित जोखिमबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गरे । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन सरकार तयार रहेको उनले बताए ।

भेटमा पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै कोरोनाको जोखिम रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए । अन्तरराष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालमा श्ययाको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा समेत मन्त्री भट्टराईले जानकारी गराए । भेटमा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायतको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *