अर्थ

ललितानिवासको सरकारी जग्गा प्रकरण : १० अर्बको सबैभन्दा ठूलो मुद्धा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा प्रकरणमा १७५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि यो नै अहिलेसम्मको सबैभन्दा ठूलो भ्रष्टचारको मुद्धा भएको छ ।

पूर्व ३ मन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्व प्रमुख र दुई पूर्व सचिवलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेपछि यस सम्बन्धी बहसले सामाजिक सञ्जालसमेत तातेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै इतिहासमा सम्भवतः सबैभन्दा बढी बिगो माग दाबी गरिएको मुद्दा हो यो । १७५ जनालाई विपक्षी बनाइएको यस मुद्दामा जम्मा रु १० अर्ब १४ करोड ३४ लाख ५५ हजार ६०० बिगो माग दाबी गरिएको छ।

यसभन्दा अघि सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार सम्बन्धी मुद्दामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँको बिगो माग दाबी गरिएको थियो । अख्यितारले दायर गरेको मुद्दामा प्रतिवादीका हिसाबले डडेल्धुरामा भएको वन फँडानीमा दायर मुद्दा सबैभन्दा ठूलो हो। वन फँडानी सम्बन्धी मुद्दामा करीब ५ सय व्यक्तिलाई विपक्षी बनाएर अख्यिारले मुद्दा दर्ता गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछालाई उन्मुक्ति दिएको भन्ने आरोप खेपिरहेका वेला बुधबार दायर गरिएको मुद्दाबाट ठूला माछा समेत अख्तियारबाट उम्किन नसक्ने नजिर स्थापित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *