काठमाडौं । अर्बौं रुपैयाँ कुम्ल्याएर विदेश भाग्ने तयारीमा रहेका इच्छाबहादुर तामाङ र सिर्जना शाक्य तामाङको सम्पूर्ण सम्पत्ति सरकारले रोक्का गरिदिएको छ । उच्च सरकारी स्रोतका अनुसार इच्छाबहादुरले ठूलो रकम विदेश पुराएको आशंका गरिएको छ र उनी कुनै पनि बेला विदेशिन सक्ने सम्भावनालाई ध्यानमा राखेर विदेश जान नदिन समेत अध्यागमन विभागलाई निर्देशन दिइएको छ । स्रोत अनुसार यो दम्पत्तिको टेलिफोन, भाइबर, मेसेन्जर लगायतमा पनि सरकारले कडा निगरानी गरिरहेको छ । उनीहरुले कोकोसँग सम्पर्क गर्छन् र केके कुरा गर्छन् भन्ने पनि अनुसन्धान भइरहेको छ । छोटो समयमा अर्बपति बनेका इच्छाबहादुर तामाङ र उनकी पत्नी सिर्जना शाक्य कुनै पनि बेला पक्राउ पर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले यो दम्पत्तिको सम्पूर्ण बैंक खाता रोक्का गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार यो दम्पत्तिको सिभिल बैंक सहित विभिन्न बैंक तथा वित्तीय संस्थामा एक सयवटाभन्दा धेरै खाता रहेको छ । ती सबै खाता रोक्का गरिएको हो । उनीहरुको बैंक खाता रोक्का भएसँगै सिभिल सेभिङस एण्ड क्रेडिट सहकारीमा रकम जम्मा गरेका सर्वसाधारणहरुलाई मर्का पर्ने अवस्था देखिएको छ । सो सहकारी इच्छाबहादुरको नियन्त्रणमा रहँदै आएको छ । उनले सहकारीबाट करिब नौ अर्ब रुपैयाँ घोटाला गरेको सरकारको प्रारम्भिक ठहर छ । ‘सिभिल सहकारीमा सर्वसाधारणले जम्मा गरेको अर्बौं रुपैयाँ पति इच्छाबहादुर र पत्नी सिर्जनाले घोटाला गरेको देखिएको छ’– नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । उनका अनुसार विगतमा पनि यस्तो गुनासो आएको थियो । तर, इच्छाबहादुरको शक्तिका अगाडि नियामक निकायहरु निरीह बनेका थिए ।
तर, उनी सबै सम्पत्ति कुम्ल्याएर विदेश भाग्नसक्ने आशंका गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै हस्तक्षेप गर्दै सम्पत्ति शुद्धिकरण विभागलाई कारवाहीका लागि अगाडि सारेका हुन् । यसै बीच इच्छाबहादुर र सिर्जना दम्पत्तिको नाममा रहेको काठमाडौंको कीर्तिपुरमा रहेको करिब १५ रोपनी जग्गा सहित अन्य ठाउँमा रहेका घरजग्गा मालपोत विभागले रोक्का गरेको छ । अब उनीहरुको नामको जग्गा बिक्री हुन सक्दैन । इच्छाबहादुरले सिभिल होम्स लगायतका कम्पनी चलाएका छन् । उनले सिभिल नाम राखेर २७ वटा कम्पनी सञ्चालन गरेको पाइएको छ । उनले चलाएका कम्पनीमध्ये सिभिल होम्स एउटामा मात्रै सिभिल सहकारीको ७ अर्ब रुपैयाँभन्दा धेरै ऋण लगानी गरिएको पत्ता लागेको छ । सिभिल होम्सले अहिलेसम्म करिब १२ सय वटा घर बनाएर बेचिसकेको छ । दुईचारवटा घर किनबेच गर्नेले समेत करोडौं रुपैयाँ कमाउँछन् तर इच्छाबहादुरको सिभिल होम्स भने १२ सय वटा घर बेच्दा पनि घाटामा गएको देखाइएको छ ।
‘कर छल्न र आम्दानी लुकाउन उनले सिभिल होम्स घाटामा देखाएका छन्’– अर्थ मन्त्रालयका एक अधिकारीले भने– ‘सिभिल होम्सलाई घाटामा देखाउनुको मुख्य उद्देश्य सहकारीको ऋण नतिर्नका लागि पनि हो ।’ इच्छाबहादुरले आफ्ना कम्पनीहरु घाटामा गएको देखाउँदै तथा आफ्ना ठूलाठूला भवनहरु बेच्दै सम्पत्ति विदेश पुराएको आशंकामा छानविन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धिकरण विभागलाई छानविन गर्न अह्राएका थिए । तर, इच्छाबहादुरकी पत्नीले भने प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यसँग नाता पर्छ भन्दै छानविन निकायहरुलाई तर्साउँदै आएकी थिइन् । सिर्जना शाक्य विगतमा सरकारी कर्मचारी थिइन् । उनले सरकारी सेवामा रहँदा सामान्य सम्पत्ति मात्र देखाएकी थिइन् ।
तर ०७४ सालमा जागिर छाडेपछि उनको खातामा अर्बौं रुपैयाँ देखा परेको राष्ट्र बैंक स्रोतको भनाई छ । ‘सिर्जना शाक्यको एउटा खातामा ५० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार देखिएको छ, त्यो रकमको स्रोत देखिँदैन’– राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ । इच्छाबहादुरले काठमाडौंको टुँडिखेल वरिपरि रहेका भव्य भवनहरु केही समय पहिले अर्बौं रुपैयाँमा बेचेका थिए । सो रकम उनले सहकारीको ऋण तिर्न प्रयोग नगरेको पाइएपछि उनी उपर आशंका बढेको थियो । घर बेचेको सो रकम उनले विदेश लगेको आशंका अर्थ मन्त्रालयले गरेको छ । सहकारीको अर्बौं रुपैयाँ खाएर भाग्ने योजना गरेको आशंकासँगै छानविन थालिएपछि पत्नी सिर्जनालाई पनि उनले गैरकानुनी काममा लगाएको पत्ता लागेको हो । पत्नी सिर्जना सरकारी सेवामै रहँदा व्यापारिक कम्पनीहरुको सञ्चालक रहेको पाइएको छ ।‘अब इच्छाबहादुर र सिर्जना दम्पत्तिलाई चाँडै पक्राउ गरिनेछ र मुद्दा दायर गरिनेछ’– एक उच्च सरकारी अधिकारीले बताए ।




