ताजा समाचार

रेल उपकरण १० दिनपछि भारतबाट हिँड्ने

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ । भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ।  यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताए । फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उनको भनाइ छ । केही समय पहिले नै रेलमार्ग सम्पन्न भएको थियो ।

सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ । सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनले बताए । दुईवटा सेट खरीद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने उनको भनाइ छ । उनले भने “सेट आएपछि नै सञ्चालनको तयारी हुनेछ।”

सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनले बताए । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *