राजनीति

देशले इमान्दार र सक्षम युवाहरूको गठबन्धन खोज्दैछ

माघ ११ गते हुने निर्वाचनमा राष्ट्रिय सभामा नेपाली कांग्रेसले एक आशालाग्दा युवा नेता जितजंग बस्नेतलाई उम्मेदवार बनाएको छ।अहिलेसम्म उनको राजनीतिक यात्रामा कुनै दाग र आर्थिक प्रलोभनमा परेको पाइएको छैन।

उनमा देखिएको स्पष्टता आगामी दिनमा पनि हामीले निरन्तर देख्न पाउने आशामा छौँ। दलीय र नेताहरूको निजी स्वार्थभन्दा माथि उठी युवाहरूको बेदना तथा देश र जनताको भावना बोकेर राष्ट्रिय सभामा उभिनु हुनेछ भन्ने आशा पलाएको छ। उहाँलाई शुभकामनात्यस्तै, नेपाली राजनितिमा जनसङ्ख्याको आधारमा नेपालको आकाश ढाकिएका महिलाहर मध्येबाट एकजना महिला सांसद सुमना श्रेष्ठ हामी सबै नेपालीहरूको गर्व गर्न लायक हुनेगरी नेपाली संसदमा देखिएका छन्।

अहिलेसम्म उहाँले संसदमा र संसद् बाहिर प्रस्तुत गरिरहनुभएका धारणा र प्रस्तुति देख्दा र सुन्दा उहाँमा राजनीतिक,सामाजिक, सांस्कृतिक तथा ब्यापारिक क्षेत्रको अध्ययन गहन रूपमा भएको पुष्टि हुन्छ। उहाँले सांसदको रूपमा जनभावनालाई जसरी जिम्मेवारिपूर्वक प्रस्तुतिकरण गर्नुहुन्छ सायदै अरू संसदले गरेको सुनेका छौँ।

हो, उहाँ फरक बिचार र फरक पार्टिबाट प्रतिनिधित्व गर्नुहुन्छ, तर उहाँको यो बिलक्षण प्रतिभालाई सबैले आफ्नो मन भित्रबाट गरिरहेको भए पनि फरक पार्टीका कारण बाहिर खुलेर तारिफ गर्न सक्दैनन् र चाहँदैनन्। तर राम्रोलाई राम्रो भन्नुपर्छ र हाम्रालाई हैन राम्रालाई सबै क्षेत्रमा अवसर दिनुपर्छ र हाम्राहरू नराम्रा भयो भने आलोचना गरी सके सुधार्ने नसके उतार्नुपर्छ भन्ने मेरो ब्यक्तिगत धारणाका कारण मलाई मेरै सहपाथीहरूले मायाले गाली पनि गर्नुहुन्छ।

अहिले नेपाली राजनीति कुनै विचार र सिध्दान्तबाट चलिरहेको छैन। कोही पनि नेताहरूलाई देश र जनताको चिन्ता र माया छ जस्तो उहाँहरूको काम गर्ने शैली र ब्यवहारले हामीले पाउन सक्दैनौ। सबै नेताहरूलाई देशको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी भन्दा पैसा कमाउने र आफ्नालाई मात्र पोस्ने लक्ष्यका साथ चौबीसै घण्टा राजनीतिमा लागिरहेको देख्छु।

आफूले अघिल्लो मन्त्रालयको जिम्मेवारि पाउँदा कस्तो काम गरेँ भन्दा औलामा गनेर कतिपटक मन्त्री र प्रधानमन्त्री भएँ भनेर गर्व गर्ने खालका नेताहरूको सिण्डिकेट राजनीतिमा अल्झिरहेको देशलाई अब हामीले सबै दलहरूबाट सक्षम, शिक्षित तथा मातृभूमिको माटोलाई माया गर्ने इमानदार युवाहरूलाई साथ र सहयोग गरी यो मुलुकलाई फेरि ब्यूँताउनुपर्छ।बिदेशी रहेका नेपाली युवाहरूलाई आफ्नै स्वदेशमा भबिष्य छ भन्ने आशा जगाउनुपर्छ।

अन्य देशमा युवाहरूलाई मन्त्री प्रधानमन्त्री हुँदा हामीले चियापसलहरूमा हाम्रो देशमा कहिले होला है भन्दै चिन्ता गरी गफिने गर्छौं र आफ्नै दलका बुढा नेताहरूको खिस्सी गरी गाली गर्ने गर्छौं)ं, तर आफ्नो अवसर गुम्ला र घाटा पर्ला भन्ने लोभले मुखमा पट्टी लगाउने गर्छौँ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *