देश

दिक्षान्त समारोहका दिन व्यावस्थापनमा देखिएको कम्जोरीका कारण नागरिकलाई दुःख

काठमाडौं । सोमबार बिहान १० बजे चाबहिल, भक्तपुरबाट गाएको यात्रुवाहक बसहरू काठमाडौंको तीनकुनेबाट फर्काइयो । बसमा भएका कैयौं यात्रुसँग झोला थियो, कतिपय बिरामीसमेत थिए । कतिपयसँग बालबच्चा पनि थियो । ती यात्रुलाई विभिन्न स्थान पुग्नु थियो । कोही कार्यालय जान बस चढेका थिए, त कोही आफ्नो घर । अस्पताललगायत विभिन्न ठाउँ जाने यात्रुहरू पनि बसमा थिए । झोला र बालबच्चा नभएका मानिसहरू बसबाट झरे । जो व्यक्तिसँग झोला र बालबच्चा थियो, उनीहरू ट्याक्सी र पठाओ खोज्नतिर लागे । त्यहाँ एउटा खाली ट्याक्सी आउँदा पाँचजना झुन्डिएको देखिन्थ्यो । ट्याक्सी चालक ढोका लक गर्ने अनि आफूपट्टिको सिसा थोरै खोलेर पैसाको बार्गेनिङ गरिरहेको देखिन्थ्यो ।

बा२ज ५५५० नम्बरको ट्याक्सीले तीनकुनेबाट त्रिपुरेश्वर गएको यात्रुसँग एक हजार रुपैयाँ माग्यो । तीनकुनेबाट त्रिपुरेश्वर बढीमा तीन वा चार किलोमिटर छ । ट्याक्सीको भाडा चढ्नेबित्तिकै ५० र प्रत्येक किलोमिटर ५० रुपैयाँ हो । यसरी सरकारले निर्धारण गरेको भाडादरअनुसार तीन किलोमिटरमा दुई सय र चार किलोमिटरमा साढे दुई सय लाग्छ । तर, ट्याक्सी चालकले यात्रुसँग हजार रुपैयाँ लियो ।

यो त उदाहरण मात्र हो । अन्य ट्याक्सीहरूले पनि यात्रुसँग यसरी नै मोलमोलाई गरिरहेका थिए । पठाओ मोटरसाइकलले पनि तीनकुनेबाट सर्वोच्च अदालतसम्म गएको तीन सय रुपैयाँ मागेको सुनिन्थ्यो । पैसा हुने त महँगो भाडा तिरेर भए पनि आफ्नो गन्तव्य पुगे । तर, जोसँग पैसा थिएन, उनीहरू मारमा परे । सोमबार दिउँसो १ बजेसम्म राजधानीका चोकचोकमा मानिसहरू बस पर्खेर बसेर देखिन्थ्यो ।

सोमबार नै मेलम्चीको पानी ल्याउनुपर्ने माग गर्दै तीनकुनेमा रित्ता गाग्री र बाल्टिन राखेर राजधानीवासी प्रदर्शनमा उत्रिएका थिए । यसले पनि राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । त्रिविको दीक्षान्त समारोहका कारण आमसर्वसाधारणले सास्ती व्यहोर्नुपर्यो । दीक्षान्त समारोह कि त सार्वजनिक बिदाको दिन राख्नुपथ्र्यो कि त अफिस टाइम अगाडि वा पछाडि राख्नुपथ्र्यो । आयोजकले यसप्रति ध्यान नपुप्याउँदा आमसर्वसाधारणले दुःख भोग्नुपर्यो । राष्ट्रपति, प्रधानमन्त्री कार्यक्रममा सहभागी हुने अनि सर्वसाधारणले दुःख पाउनुपर्ने ?

वीर अस्पतालअगाडि दिउँसो १ बजे पनौतीको गाडी रोकिरहेको थियो । तर, बस सहचालकले गाडी नाला हुँदै जाने भन्दै भक्तपुर आउने यात्रुलाई चढाएन । पनौती जानेलाई मात्र बसमा चढायो । गाडीमा दाउरा मिलाएसँगै यात्रु हालेपछि सहचालकले कोटेश्वर, भक्तपुर भन्न थाल्यो । हिजो सार्वजनिक यातायातले समेत आमसर्वसाधारणलाई ठग्नु ठगे । अगाडि त नजिकको यात्रु नै नहाल्ने अनि हालिहाले आधा किलोमिटरमा पनि ३० रुपैयाँ लिने । माइक्रोबस, ट्याम्पोले पनि यस्तै गरिरहेका थिए ।

आमनागरिक कोही हतारमा हुन्छन् भने कोही भोकभोकै हिँडेका हुन्छन् । त्यस्तै, धेरैबेरमा बाटोमा बसिरहँदा मानिसहरूलाई दिसा, पिसाब पनि लाग्न सक्छ । गन्तव्य टाढा, तर पैसा नहुँदा यात्रुहरूको बिचल्ली भएको हिजो धेरै देखिन्थ्यो । राष्ट्रपति, प्रधानमन्त्री र कार्यक्रम आयोजकको कारण आमजनताले दुःख त पाए नै, सँगै उनीहरू ठगिए पनि । अघिपछि त ट्याक्सी मिटरमा जान मान्दैन्थ्यो । हिजो त ट्याक्सी र पठाओको राज चलिरहेको थियो । उनीहरूले जति माग्यो त्यति नै तिर्न यात्रुहरू बाध्य भएका थिए ।

पछिल्लो समय जननिर्वाचित प्रधानमन्त्री, राष्ट्रपति काहीँ जानुपरेमा अघिपछि साइरन बजाएर सवारीसाधन रोकेर जनतालाई दुःख दिन्छन् । कार्यक्रम आयोजकहरू पनि कार्यालय समयमा कार्यक्रम राखेर जनतालाई नै दुःख दिन्छन् । के जनतालाई दुःख नदिई केही काम हुन सक्दैन ? मुलुकबाट राजतन्त्र त हट्यो । तर, राजाको झल्को अझै कायमै छ । मुलुकको जिम्मेवार ठाउँमा बसेका प्रधानमन्त्री, राष्ट्रपति राजाले गर्नेजस्तै क्रियाकलाप गर्दै आएका छन् ।
प्रधानमन्त्री, राष्ट्रपति काहीँ जाने भएपछि चोकचोक, सडकको दायाँबायाँ, पुललगायत विभिन्न ठाउँमा सुरक्षाकर्मी तैनाथ गरिन्छ ।

सुरक्षाकर्मीले जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । पोसाक लगाउँछन् र अवकाश भएपछि पनि जनताले नै तिरेको करबाट पेन्सन पाउँछन् । सरकारले आर्मी, प्रहरी वा सशस्त्र प्रहरी भर्ना गर्नुको कारण मुलुकको सुरक्षा गर्नु र अन्य देशलाई आफ्नो देशको भूमि अतिक्रमण गर्न नदिनु हो । तर, हाम्रो देशको अधिकांश भूभाग चीन र भारतले कब्जा गरिसकेको छ । आर्मी न भारत र चीनले कब्जा गरेको नेपाली भूमि फिर्ता ल्याउन सक्छ, न सीमानामा गएर बस्छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि भारत र चीनले कब्जा गरेको भूमि फिर्ता ल्याउन सक्दैनन् । राष्ट्रपति, प्रधानमन्त्रीको अघिपछि लागेर तलबभत्ता पचाउँछन् । अहिलेका सुरक्षाकर्मीले न मातृभूमि बचाउन सक्छन्, न छिमेकीले कब्जा गरेको भूमि फिर्ता ल्याउन सक्छन् ।

विदेशी ऋण तिर्न सरकारसँग न आम्दानी छ, न पैसा । अबको एक वर्षमा यो ऋण दोब्बर हुन्छ । सरकारको आम्दानीभन्दा खर्च खर्बौं बढी छ । जनताले तिरेको करबाट सरकारी खर्चसमेत धान्न पुग्दैन । नेपाल सेना, प्रहरी, सरकारी कर्मचारी, जनप्रतिनिधि, पूर्वराजालगायतले देश बेचेर तलबभत्ता र सेवासुविधा लिएका छन् । विदेशीसँग ऋण लिएर यिनीहरूले मोजमस्ती गरे, तर यसको क्षति भने जनता र राष्ट्रको व्यहोर्नुपर्ने देखिएको छ । विदेशी ऋण तिर्न सरकारसँग आम्दानी छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *