‘पप्पूलाई समायो, लुट्ने र ठग्नेलाई ठेगान लगायो’ ! त्यसैले एमालेलाई भोट दिनुहोस् !’ गएको चुनाबमा एमालेको नारा यस्तो थियो ! उद्घाटनअघि नै भत्किएको पुलको फोटोसहित ‘केपी बा’ भन्ने ऱ्याप गीत अझै युट्युबमैं छ !
अहिले देशको ध्यान दुर्गा प्रसाईंतिर केन्द्रित भएका बेला त्यही ‘केपी बा’ले फूलमाला लगाएर पप्पूलाई पार्टीमा स्वागत गरे ! देशले चिन्न नसकेको एक अद्भुत विकासप्रेमी नेता भन्दै देशमा पप्पूको खाँचो रहेको भाषण गरे ! कुनै कार्यकर्ताले असहमति जनाएको र विरोध गरेको सुनिएन । हाम्रो राजनैतिक निष्ठा र संस्कार यस्तो हुन्छ !
एउटा व्यक्ति अमुक दलमा प्रवेश गरेको या निस्किएको घटना भए बोलिरहनु जरूरी हुँदैनथ्यो । तर जसले सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको छ, भ्रष्टाचार र अनियमिततामा अदालतबाट सजाय पाएको छ र देशका दर्जनौं प्रोजेक्टहरूलाई अलपत्र बनाएको छ, त्यस्तो व्यक्तिलाई हाकाहाकी यसरी राष्ट्रिय दलमा देशलाई चाहिने नेताको रूपमा स्वागत गरिनु देशप्रतिको आपराधिक कार्य हो ।
पप्पू कन्स्ट्रक्शन राजनैतिक पहुँचका आधारमा सरकारी ठेक्का हात पार्ने, पेश्की लिने र काम नगर्ने गतिविधिले गर्दा कालोसूचीमा छ र अरबौंका दर्जनौं पुराना ठेक्काहरू अलपत्र पारेर बसेको छ । निर्माण सम्पन्न भएका ठेक्काहरू गुणस्तरहीन र सम्झौताविपरीत भएको सरकारी छानबिनले नै पुष्टि गरेका छन् ।
कालोसूचीमा रहुन्जेल नयाँ ठेक्का पाउने सम्भावना छैन । यस्तोमा थप कारबाही र जरिवानाबाट बच्न अनि फेरि ठेक्का हात पार्न उसलाई बलियो राजनैतिक साथ चहिएको स्पष्ट छ ।
दुर्भाग्य, नेपालमा केही करोड़ नजराना टक्ऱ्याएपछि पार्टीको फूलमाला र झण्डा पाइन्छ, सफाइ पाइन्छ । ओली नभए देउबा छन्, देउबा नभए प्रचण्ड छन् । नेपालमा समयमैं र तोकिएको लागतमा।सम्पन्न भएका ठेक्का कति होलान् ? प्रायः सबै ठेक्का तोकिएको समयभन्दा दोब्बर-तेब्बर ढिला र महँगा बन्ने गरेको त देख्नुभएकै होला ।
र पनि बारम्बार तिनले नै ठेक्का पाउँछन् किन ? यसको उत्तर पनि तपाईंलाई थाहै छ । ती ठेकेदार मात्र नभई कांग्रेस-एमाले र माओवादीका नेता पनि हुन् । हाम्रा अन्नदाता र पूज्य पनि हुन् ।
तर त्यो पूजाको मूल्य देशले र नागरिकले पुस्तौंसम्म चुकाउनु पर्छ । देशको आम्दानीले त तलबभत्ता नै पुग्दैन । ऋण लिएर गरिने विकास खर्च र ठेक्का कहाँ र कसरी खर्च हुन्छ भन्ने बुझ्नुभएकै होला !
पार्टी क्याडर मात्र होइन, देशको नागरिक पनि हुँ भन्ने लाग्छ भने सबैभन्दा पहिले विरोध गर्नुपर्ने एमाले कार्यकर्ताले नै हो ! क्याडरमात्रै हुनुहुन्छ भने त कति खेदो खनेको भनेर मेरै विरोध गरे पनि हुन्छ !




